काठमाडौं। गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा पुगेको छ।
घटनापछि देउवा सपरिवार उपचारका लागि सिंगापुर र हङकङमा बसेका थिए। उनी गत साउन २८ गते काठमाडौँ फर्किएपछि घर भत्काउन थालिएको थियो। अहिले पनि भत्काउने काम जारी छ।
देउवानिकट स्रोतका अनुसार घर भत्काइसकेपछि उक्त जमिन भाडामा दिने योजना रहेको छ। तत्काल जमिन बिक्री गर्ने योजना भने नरहेको बताइएको छ।
उक्त घर देउवा पहिलोपटक प्रधानमन्त्री हुनुअघि २०५१ सालमा निर्माण गरिएको थियो। २०४८ सालको आमनिर्वाचनपछि उनी गृहमन्त्री बनेका बेला घर निर्माण सुरु भएको थियो।
प्रकाशित मिति: ६ कार्तिक २०८३, बिहिबार












प्रतिक्रिया