काठमाडौं । बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले आगामी साताको अन्त्यमा देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् राजन महर्जनका अनुसार साताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने अन्त्यतिर न्यूनचापीय प्रणालीको प्रभाव देखिनेछ।
साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात हुनसक्ने सम्भावना छ। ती प्रदेशका एक–दुई स्थानमा धेरै भारी हिमपातसमेत हुनसक्ने मौसमविद् महर्जनले बताए। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि हिमपातको सम्भावना छ।
पहाडी क्षेत्रमा साताको सुरु र मध्यमा छिटपुट हल्का वर्षा हुने तथा अन्त्यमा केही स्थानमा मध्यम वर्षा हुनसक्ने अनुमान छ। कोशी, बागमती र गण्डकीका थोरै स्थानमा तथा लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।
तराईका क्षेत्रमा साताको सुरु र मध्यमा वर्षाको सम्भावना नरहे पनि अन्त्यतिर कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा तथा सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने जनाइएको छ।
मौसमविद् महर्जनका अनुसार साताको अन्त्यमा बागमती र गण्डकीका तराई क्षेत्रमा थोरै स्थानमा तथा कोशी, मधेस र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ।
यस अवधिमा देशका विभिन्न भूभागको अधिकतम र न्यूनतम तापक्रम केही घट्ने सम्भावना रहेकाले चिसो बढ्न सक्नेछ।
प्रकाशित मिति: ७ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया