काठमाडौं । अमेरिकाले इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएपछि मध्यपूर्वमा तनाव बढ्ने आशङ्का गरिएको छ। यसैबीच, अमेरिका र इजरायलले फेरि आक्रमण गरे खाडी क्षेत्रमा समुद्रमुनि बिछ्याइएका सञ्चार केबललाई निसाना बनाउन सकिने इरानी सुरक्षा अधिकारीहरूले चेतावनी दिएका छन्।
रोयटर्ससँग कुरा गर्दै दुई वरिष्ठ इरानी सुरक्षा अधिकारीले सम्भावित आक्रमणको जवाफमा समुद्रमुनिका सञ्चार केबलदेखि सैन्य अखडासम्मलाई निसाना बनाउन सकिने बताएका हुन्। इरानसँग ती केबलसम्म पहुँच रहेको र तिनलाई क्षति पुर्याउन सक्ने उनीहरूको दाबी छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभामा इरानसँग सम्झौता नभए ‘लिटिल एपिक फ्युरी’ नाममा अर्को सैन्य अभियान सञ्चालन गर्न सकिने बताएका थिए। यद्यपि, उनले सम्भावित कारबाहीको समय र स्वरूपबारे खुलाएका छैनन्।
ट्रम्पले यसअघि युद्ध चाँडै अन्त्य गर्न सकिने बताएका थिए। तर, युद्ध तत्काल अन्त्य गर्ने वा क्रमशः कमजोर हुन दिने भन्ने विषयमा पनि उनले प्रश्न उठाएका थिए। उनले अमेरिकाले चाहेका उपलब्धि हासिल गरिरहेको र होर्मुज जलडमरूमध्यबाट तेल आपूर्ति जारी रहेको दाबी गरेका छन्।
यसैबीच, इरानमाथि नयाँ आक्रमण भए तनाव क्षेत्रीय युद्धमा परिणत हुन सक्ने भन्दै विभिन्न देशले कूटनीतिक समाधानमा जोड दिएका छन्। शुक्रबार इस्तानबुलमा बेलायत, फ्रान्स, जर्मनी, टर्की, इजिप्ट, पाकिस्तान, साउदी अरब र इटालीका प्रतिनिधिबीच भएको बैठकमा पनि तनाव कम गर्ने विषयमा छलफल भएको थियो।
टर्कीका विदेशमन्त्री हाकान फिदानले इरानमाथि नयाँ आक्रमण भए युद्ध क्षेत्रभर फैलिन सक्ने चेतावनी दिएका छन्। फ्रान्सका विदेशमन्त्री जीन–नोएल बारोले पनि सैन्य कारबाहीबाट बच्न आग्रह गर्दै तनावले तेलको मूल्यमा गम्भीर असर पार्न सक्ने बताएका छन्। जर्मनीका विदेशमन्त्री योहान वाडेफुलले जर्मनी, फ्रान्स र बेलायत इरानलाई परमाणु हतियार हासिल गर्नबाट रोक्ने उद्देश्यले वार्ता गर्न तयार रहेको बताएका छन्।
इरानी रिभोलुसनरी गार्ड्सका राजनीतिक मामिला उपप्रमुख यदोल्लाह जावानीले पनि इरानी पूर्वाधारमा आक्रमण भए होर्मुज जलडमरूमध्यअन्तर्गतका सात प्रमुख इन्टरनेट केबललाई निसाना बनाउन सकिने बताएका छन्।
समुद्रमुनि बिछ्याइएका केबलले विश्वको करिब ९९ प्रतिशत इन्टरनेट ट्राफिक ओसारपसार गर्छन्। यद्यपि, होर्मुज जलडमरूमध्यबाट अन्तर्राष्ट्रिय ब्यान्डविथको एक प्रतिशतभन्दा कम मात्र आवतजावत हुने बताइएको छ। त्यस क्षेत्रमा धेरै केबलमा क्षति पुगे इन्टरनेटको गति घट्न सक्ने र वित्तीय कारोबार, अनलाइन व्यवसाय तथा क्लाउड सेवामा असर पर्न सक्नेछ।
सम्भावित क्षतिको प्रभाव वैकल्पिक नेटवर्कको क्षमता र इन्टरनेट ट्राफिकलाई अन्य मार्गमा पठाउन सकिने अवस्थामाथि निर्भर रहनेछ। युद्धका बेला केबल मर्मतसम्भारसमेत कठिन हुन सक्छ। बीमा लागत बढ्नु र सामुद्रिक क्षेत्रमा प्रवेश अनुमति पाउन ढिलाइ हुनु त्यसका प्रमुख चुनौती हुन सक्छन्।
खाडी मुलुकहरूले तेलमाथिको निर्भरता घटाउने र कृत्रिम बौद्धिकताको केन्द्र बन्ने लक्ष्यसहित प्रविधि पूर्वाधारमा ठूलो लगानी गरिरहेका छन्। यस क्रममा अमेरिकी प्रविधि कम्पनीहरूसँग उनीहरूको सहकार्य पनि बढेको छ।
गत मार्चमा संयुक्त अरब इमिरेट्समा अमेजन वेब सर्भिसका दुई संरचनामा क्षति पुगेको र बहराइनमा पनि यसको एक संरचनानजिकका पूर्वाधारमा क्षति भएको जनाइएको थियो।
इन्टरनेट ट्राफिकका लागि जमिन हुँदै जाने वैकल्पिक मार्गहरू पनि उपलब्ध छन्। खाडी सरकार र अमेरिकी प्रविधि कम्पनीहरूले नेटवर्कलाई थप मजबुत बनाउन नयाँ पूर्वाधारमा लगानी गरिरहेका छन्। माइक्रोसफ्टले सन् २०३० सम्म मध्यपूर्वमा समुद्रमुनि र जमिन हुँदै हुने सञ्चार सम्पर्क विस्तार गर्न ४० करोड डलरभन्दा बढी लगानी गर्ने योजना बनाएको छ।
प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया