चितवन । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। यस अवधिमा चार जनाको नागरिकता रद्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय माडीबाट तीन महिनामा तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन्। तीमध्ये जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र माडीबाट २३८ जनाले नागरिकता लिएका हुन्।
यस अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १५ जनाले वैवाहिक अङ्गीकृत र ११ जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्। त्यस्तै, ३१ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन्। माडीबाट पनि एक जनाले वैवाहिक अङ्गीकृत र एक जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्।
तीन महिनामा दुवै कार्यालयबाट कुल छ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयबाट ६ हजार ११६ र माडीबाट ६५० प्रतिलिपि जारी भएका हुन्।
यसैगरी, जिल्ला प्रशासन कार्यालयबाट ११ हजार ९९७ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको छ भने चार हजार ३७० वटा परिचयपत्र वितरण गरिएको छ। माडीबाट एक हजार २५५ जनाको विवरण दर्ता र ७४८ वटा परिचयपत्र वितरण गरिएको छ।
राहदानीतर्फ जिल्ला प्रशासन कार्यालयले पाँच हजार ८५२ जनालाई सिफारिस गरेको छ भने चार हजार २४३ वटा राहदानी वितरण गरेको छ।
यस अवधिमा ३२६ जनाको नाबालक परिचयपत्रका लागि नयाँ दर्ता गरिएको छ। साथै जातीय प्रमाणित, भारतीय पेन्सन सिफारिस, व्यक्ति प्रमाणित र अन्य सिफारिससम्बन्धी सेवा पनि प्रवाह गरिएको कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया