काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिल्लीमा नेपाल–भारत सम्बन्धबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारको आधिकारिक धारणा माग गरेका छन्।
थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत वाग्लेको अभिव्यक्तिले नेपाली राष्ट्रियताको अवमूल्यन गरेको टिप्पणी गरेका हुन्। विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्नु राष्ट्रिय सरोकारका विषयलाई कमजोर बनाउने अभिव्यक्ति भएको उनको तर्क छ।
नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नरहेको उल्लेख गर्दै थापाले सीमित समूहका केही धारणालाई आधार बनाएर समग्र नेपाली समाजको राष्ट्रिय भावनालाई संकुचित रूपमा प्रस्तुत गर्नु पूर्वाग्रहपूर्ण हुने बताएका छन्। उनका अनुसार नेपालको राष्ट्रियता मुलुकको सार्वभौमिकता र नेपाली जनताको हितको संरक्षणमा केन्द्रित छ।
भारतसँग समानता र पारस्परिक सम्मानमा आधारित सम्बन्ध नेपालको चाहना रहेको स्पष्ट पार्दै थापाले सीमा अतिक्रमण, डुबान तथा नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको बताएका छन्।
थापाले वाग्लेले विगतमा अघि सारेको भनिएको ‘मुनरो डक्ट्रिन’ र पछिल्लो अभिव्यक्तिबीच कुनै सम्बन्ध छ कि भन्दै प्रश्नसमेत गरेका छन्। जिम्मेवार सरकारी पदमा रहेका व्यक्तिले यसबारे स्पष्ट पार्नुपर्ने उनको माग छ।
वाग्लेको अभिव्यक्ति सरकारकै आधिकारिक धारणा हो कि होइन भन्ने प्रश्न उठाउँदै थापाले भनेका छन्, ‘के सरकारको धारणा यही हो ?’
प्रकाशित मिति: ८ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया