काठमाडौं । जलवायु परिवर्तनले युवा, समाज र क्षेत्रीय सुरक्षामा पार्ने प्रभावबारे छलफल गर्न काठमाडौंमा दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

दक्षिण एसियाली अध्ययन तथा विश्लेषणसम्बन्धी संस्था (कोसाट) को आयोजनामा अक्टोबर २६ र २७ मा ‘युवा र सुरक्षामा जलवायु परिवर्तनको प्रभाव’ विषयक सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा जलवायु परिवर्तनका कारण उत्पन्न चुनौती, दिगो विकास लक्ष्य प्राप्तिमा युवाको भूमिका, जलवायुजन्य विपद् र त्यसले निम्त्याउने सुरक्षा चुनौतीबारे छलफल हुनेछ । साथै, दक्षिण एसियाली मुलुकबीच जलवायु परिवर्तनका असर न्यूनीकरण तथा साझा समाधानका उपाय खोज्ने विषयलाई प्राथमिकता दिइनेछ ।

सम्मेलनको पहिलो दिन सोमबार जलवायु परिवर्तनसम्बन्धी दिगो विकास लक्ष्य प्राप्तिमा युवाको भूमिका र सक्रियताबारे छलफल हुनेछ । दक्षिण एसियाली युवा सञ्जालका आदित्य गौतम र मोक्सदा तुलाधरले दिगो विकास लक्ष्य तथा जलवायु परिवर्तनका क्षेत्रमा सञ्जालले गरिरहेका कामबारे प्रस्तुति दिने कार्यक्रम छ ।

त्यसैगरी, नेपालमा जलवायु परिवर्तनको प्रभावअन्तर्गत भोटेकोशीमा आएको आकस्मिक बाढीलाई अध्ययनका रूपमा प्रस्तुत गरिनेछ । राष्ट्रिय कलेजकी उत्साहा पहाडीले उक्त विषयमा प्रस्तुति दिनेछिन् ।

पहिलो दिनको अर्को सत्रमा सञ्चारमाध्यम तथा विज्ञबीच जलवायु परिवर्तन र उदीयमान सुरक्षा चुनौतीबारे संवाद हुनेछ । भारतका सञ्चारकर्मी सचिन बुधौलिया र शिखा सलारियासहित बंगलादेश इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड स्ट्राटेजिक स्टडिजकी वरिष्ठ अनुसन्धानकर्ता डा. सुफिया खानोमले यस विषयमा धारणा राख्ने कार्यक्रम छ ।

दोस्रो दिन मंगलबार ‘परिवर्तनशील जलवायुमा दक्षिण एसिया : क्षेत्रीय प्रतिक्रिया र सहकार्यात्मक समाधान’ विषयमा छलफल हुनेछ । उक्त सत्रमा श्रीलंकाको कोलम्बो विश्वविद्यालयकी प्राध्यापक मनीषा एस वानासिंघे पास्क्वल, भारतको शिव नाडर विश्वविद्यालयकी सार्वजनिक नीति अनुसन्धान प्रमुख डा. दिव्या भटनागर र क्लाइमेट एक्सन नेपालका संस्थापक तथा अध्यक्ष उज्ज्वल उपाध्याय वक्ताका रूपमा सहभागी हुनेछन् ।

जलवायु परिवर्तनले प्राकृतिक विपद्, जनजीविका र क्षेत्रीय स्थिरतामा पार्ने प्रभाव बढिरहेका बेला सम्मेलनले युवा सहभागिता, नीतिगत सहकार्य र दक्षिण एसियाली मुलुकबीचको समन्वयबारे साझा दृष्टिकोण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com