काठमाडौं । मौसमका कारण हुने हवाई दुर्घटना न्यूनीकरण गर्न सरकारले जल तथा मौसम विज्ञान विभागअन्तर्गत छुट्टै हवाई मौसम निर्देशनालय स्थापना गर्ने भएको छ।
विभागको श्वेतपत्र मस्यौदामा हवाई उडान सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो संस्थागत संरचना प्रस्ताव गरिएको छ। नयाँ व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्डअनुरूप एभिएसन सिस्टम ब्लक अपग्रेड कार्यक्रमसमेत लागू गरिनेछ।
कार्यक्रमअन्तर्गत उडान मार्गको मौसम पूर्वानुमान र डिजिटल फ्लाइट फोल्डरमार्फत पाइलटलाई मौसमको सटीक जानकारी उपलब्ध गराउने व्यवस्था गरिनेछ।
त्यस्तै, काठमाडौं उपत्यकाको जोखिमयुक्त हवाई उडानलाई सुरक्षित बनाउन उपत्यकाकेन्द्रित नयाँ एक्स–ब्यान्ड मौसम राडार जडान गर्ने योजना पनि अघि सारिएको छ। यसले मौसममा अचानक हुने परिवर्तनको तत्काल जानकारी उपलब्ध गराई उडान सुरक्षामा सहयोग पुग्ने सरकारको अपेक्षा छ।
प्रकाशित मिति: ९ कार्तिक २०८३, आइतबार












प्रतिक्रिया