काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाविरुद्ध उजुरी आह्वान गरेको छ।
समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित व्यक्तिहरू सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुन उपयुक्त नभएको लागेमा त्यसको स्पष्ट आधार, कारण र प्रमाणसहित १० दिनभित्र उजुरी दर्ता गराउन आग्रह गरेको हो।
न्याय परिषद्को असोज २० गते बसेको बैठकले पुनरावेदन अदालतका न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
त्यसपछि संसदीय सुनुवाइ समितिको असोज २६ गते बसेको बैठकले प्रस्तावित न्यायाधीशहरूविरुद्ध कात्तिक ९ गतेदेखि लागू हुने गरी १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार समितिले सार्वजनिक सूचना जारी गरेको हो।
समितिले सूचनामा उजुरीकर्तालाई सूचना प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा स्पष्ट आधार र सबुत प्रमाणसहित शिष्ट तथा मर्यादित भाषामा उजुरी दिन आग्रह गरेको छ। उजुरीमा सूचनादाताको नाम, थर, ठेगाना र फोन नम्बर अनिवार्य रूपमा खुलाउनुपर्ने भए पनि उजुरीकर्ताले चाहेमा उनको पहिचान पूर्ण रूपमा गोप्य राखिने समितिले जनाएको छ।
उजुरी संसदीय सुनुवाइ समितिको सचिवालय, सिंहदरबारमा सिधै वा देशका जुनसुकै जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता गराउन सकिने सूचनामा उल्लेख छ।
प्राप्त उजुरीमाथि छानबिन गरेपछि समितिले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउनेछ। समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार












प्रतिक्रिया