चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छिन् ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन् । भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन् ।

सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारी पीडितको समस्या समाधानमा रहेको मन्त्री रावलले बताइन् ।

समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्ने काम सुरु भइसकेको जनाउँदै उनले त्यस कार्यलाई अझै तीव्रताका साथ अघि बढाइने बताइन् ।

मन्त्री रावलले भनिन्, “धेरै समयदेखि उहाँहरु पीडामा हुनुहुन्छ । छिटोभन्दा छिटो बचत फिर्ता गर्नुपर्ने देखिन्छ ।”

बचतकर्ताको रकम फिर्ता नगरेका सहकारीलाई ताकेता गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले जनताका माझमा मन्त्री आफै पुगेर समस्या सुन्ने अभियानमा रहेको बताइन् ।

मन्त्री रावलले भनिन्, “सरकारले जनताको हकहितमा के काम गरिरहेको छ ?, आगामी कार्ययोजना के छ ? भन्नेबारे जनतालाई बताउनुपर्ने छ । उहाँहरु त्यो सुन्न आतुर हुनुहुन्छ ।”

अहिले बसोबास गरेको ठाउँबाट उठाइ दिने हो कि भन्ने विषयलाई पनि चिर्नु पर्ने आवश्यकता रहेको बताउँदै उनले भनिन्, “त्यस्तो हुँदैन । हामीले काम गरिरहेका छौँ । कानुनी जटिलता बाधक थियो त्यसलाई सच्याएर सरकार अघि बढेको छ ।”

मन्त्री रावलले लामो समयदेखि बसोबास रहेको स्थानकै जग्गा उपलब्ध गराउन कतिपय कानुनी अड्चन रहेकामा त्यसलाई पन्छाएर जग्गा धनीपुर्जा उपलब्ध गराइने बताइन् ।

उनले भनिन्, “जे–जे नीतिगत सुधार गर्नुपर्ने थियो त्यो गरिसेकेका छौँ । कार्यान्वयनका क्रममा देखिने अड्चनलाई पनि सुधार गरी सरकार अघि बढ्नेछ ।”

  • रासस

प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com