खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा ज्वाइँको खुकुरी प्रहारबाट ससुराली परिवारका चार जना घाइते भएका छन्। घाइतेमध्ये श्रीमती, सासु र सालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार च्यास्मीटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली घर आहालेमा गएराति खुकुरी प्रहार गरेका थिए। घटनामा उनकी ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासु सेवन्ता राई, २५ वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएका छन्।
घाइते चारै जनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल दुर्छिममा उपचार भइरहेको छ। गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताए। सालो नरेन्द्रको अवस्था भने सामान्य रहेको जनाइएको छ।
खुकुरी प्रहारबाट अञ्जना, सेवन्ता र टेमिनाको टाउकोको पछाडिको भाग र हातमा चोट लागेको छ भने नरेन्द्रको दाहिने हातमा गहिरो चोट लागेको स्वास्थ्यकर्मीले बताएका छन्।
प्रहरीका अनुसार घटनाबारे जानकारी पाएपछि च्यास्मीटार प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो। त्यसपछि खोजतलास गरी आरोपित नइन्द्रकुमारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार श्रीमतीसँग घरायसी विवाद भएपछि उनले खुकुरी प्रहार गरेका थिए। उनी नेपाली सेनामा कार्यरत रहेको र दसैँ मनाउन घर आएका बेला घटना भएको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिएका छन्।
प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार












प्रतिक्रिया