काठमाडौं । इरानसँगको सम्भावित युद्धका लागि अमेरिकी सेनाले नयाँ सैन्य कारबाहीका विकल्प तयार पारेको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले ह्वाइट हाउसको स्वीकृति पाए इरानमाथि थप आक्रमण गर्न सक्ने योजना बनाएको हो।
सैन्य योजनाकारहरूले अमेरिकी रक्षामन्त्री पिट हेगसेथका लागि पनि विभिन्न विकल्प तयार पारेका छन्। योजनामा इरानका ऊर्जा पूर्वाधार र आणविक स्थललाई लक्षित गर्ने विकल्पसमेत रहेको समाचारमा उल्लेख छ। तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि योजनालाई औपचारिक स्वीकृति दिइसकेका छैनन्।
ट्रम्पले शनिबार अमेरिकाले ‘भोलि नै’ इरानमाथि आक्रमण गर्न सक्ने संकेत दिएका थिए। यद्यपि, उनले इरानसँग सम्झौता गर्ने सम्भावना पनि खुला राखेका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार सैन्य कारबाहीबारेको निर्णय नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनपछि हुन सक्ने आकलन गरिएको छ।
इरानी राष्ट्रपति मसुद पेजेश्कियनले अमेरिकाले वार्ता प्रक्रियामा अवरोध सिर्जना गरेको आरोप लगाउँदै सम्झौताका लागि प्रयास जारी राख्नुपर्ने बताएका छन्। दुवै पक्षबाट आक्रमणको चेतावनी आइरहेका बेला युद्ध पुनः चर्किने जोखिम बढेको छ।
ऊर्जा र आणविक स्थल अमेरिकी निशानामा
अमेरिकी सञ्चारमाध्यम अक्सिओसका अनुसार पेन्टागनले यसै महिनाको सुरुमा सेन्टकमलाई प्रमुख सैन्य कारबाही पुनः सुरु गर्न आवश्यक तयारी पूरा गर्न निर्देशन दिएको थियो। द न्युयोर्क टाइम्सले पनि अमेरिका र इजरायलले मध्यावधि निर्वाचनपछि इरानमाथि आक्रमण गर्न संयुक्त योजना बनाएको जनाएको थियो।
यसबीच, अमेरिकी गुप्तचर निकायले मध्यपूर्वसहित विभिन्न क्षेत्रमा अमेरिकी कर्मचारीलाई लक्षित गर्ने इरानी प्रयास बढेको चेतावनी दिएको छ। राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले विदेशमन्त्री मार्को रुबियोलाई पठाएको ज्ञापनपत्रमा अमेरिकी कर्मचारीविरुद्धका कथित घातक योजना उन्नत चरणमा पुगेको उल्लेख गरिएको छ। त्यसपछि अमेरिकी विदेश मन्त्रालयले क्षेत्रका विभिन्न कूटनीतिक नियोगमा कर्मचारी कटौती गर्न आदेश दिएको थियो।
यसैबीच, अमेरिकाले नोभेम्बरको अन्त्यसम्ममा तेस्रो विमानवाहक युद्ध समूह यूएसएस थिओडोर रुजवेल्टसहित करिब १० हजार थप सैनिक र १३औँ मरीन एक्सपेडिसनरी युनिट मध्यपूर्वमा तैनाथ गर्ने तयारी गरेको समाचारमा उल्लेख छ।
आक्रमण भए जवाफी कारबाही गर्ने इरानको चेतावनी
इरानी राष्ट्रपति पेजेश्कियनले अमेरिकाले वार्ता प्रक्रियालाई बिगारेको आरोप लगाए पनि सम्झौताका लागि प्रयास जारी राख्नुपर्ने बताएका छन्।
इरानको अर्धसरकारी समाचार संस्था तास्निमका अनुसार इरानी सेनाले आइतबार दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासमा अमेरिकी प्रविधिमा आधारित एलयूसीएएस ड्रोन खसालेको दाबी गरेको छ।
रोयटर्सले इरानी सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिका र इजरायलले आक्रमण पुनः सुरु गरे खाडी क्षेत्रमा रहेका पनडुब्बी सञ्चार केबललाई लक्षित गर्ने इरानको योजना रहेको जनाएको छ। यसअघि होर्मुज जलमार्ग र आसपासका क्षेत्रमा सातवटा तेल ट्यांकरमा आगलागी वा क्षति भएको इरानको दाबी छ।
इरानले आफ्नो सैन्य रणनीति रक्षात्मकबाट आक्रामक दिशातर्फ लैजाने घोषणा गर्दै अमेरिकी आक्रमणका लागि सैन्य आधार उपलब्ध गराउने देशहरू पनि निशानामा पर्न सक्ने चेतावनी दिएको छ। इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका प्रवक्ताले इरानमाथि आक्रमण भए जवाफी कारबाहीमा मात्र सीमित नभई प्रतिआक्रमणसमेत गरिने बताएका छन्।
च्याथम हाउसकी अनुसन्धानकर्ता जुली नर्बर्टका अनुसार इरानले ऊर्जा पूर्वाधार र अमेरिकासँग सम्बन्धित क्षेत्रीय देशहरूलाई सम्भावित लक्ष्यका रूपमा हेर्न सक्छ। दुवै पक्ष सैन्य तनाव बढाउने तयारीमा देखिएकाले सानो गलत आकलनले समेत द्वन्द्व व्यापक बन्ने जोखिम रहेको उनको भनाइ छ।
प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार












प्रतिक्रिया