काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्तिपछि राजनीतिक वृत्तमा बहस चर्किएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेतासहित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले उनको भनाइप्रति आपत्ति जनाएका छन् भने सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले बचाउ गरेका छन् ।

पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले वाग्लेको अभिव्यक्तिलाई गैरकूटनीतिक र नेपालको स्वाभिमान तथा राष्ट्रिय हितमा आँच पुर्‍याउने खालको बताएका छन् । उनले सीमा समस्या, व्यापार घाटा, डुबान र वैकल्पिक हवाई प्रवेशमार्गजस्ता विषयमा भारतसँग खुलस्त संवाद गर्नुपर्ने धारणा राखेका छन् ।

राप्रपा नेता तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले पनि वाग्लेको भनाइलाई आपत्तिजनक भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने तर्क गरेका छन् । एमाले नेता गोकुल बास्कोटा र राजन भट्टराईले पनि अभिव्यक्तिको आलोचना गर्दै नेपालको हितमा आवाज उठाउनु भारतविरोधी राष्ट्रवाद नभएको बताएका छन् ।

तर, सत्तारूढ रास्वपाका सांसद राजीव खत्रीले भने वाग्लेको बचाउ गरेका छन् । छिमेकीलाई गाली गरेर राजनीति गर्ने समय सकिएको भन्नु देशविरोधी कसरी हुन्छ भन्दै उनले प्रश्न गरेका छन् ।

वाग्लेको अभिव्यक्तिलाई लिएर उठेको बहसले नेपाल–भारत सम्बन्ध, राष्ट्रिय हित र कूटनीतिक अभिव्यक्तिको सीमाबारे राजनीतिक दलहरूबीच मतभेद उजागर गरेको छ ।

प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com