काठमाडौं । दसैँ–तिहारका पर्व बिदा र शनिबार तथा आइतबारको साप्ताहिक बिदा एकैपटक परेपछि कात्तिक महिनामा सरकारी कार्यालय, बैंक तथा सार्वजनिक सेवा प्रवाह गर्ने निकाय १२ दिनमात्र खुल्ने भएका छन्।

३० दिनको कात्तिकमा १८ दिन कार्यालय बन्द रहनेछन्। लगातार नौ दिनको सार्वजनिक बिदापछि सोमबारदेखि सरकारी कार्यालय तथा बैंक खुले पनि नियमित सेवा प्रवाह हुन अझै समय लाग्ने देखिएको छ।

यस साताको शुक्रबारसम्म कार्यालय खुलेपछि शनिबार र आइतबार पुनः बिदा हुनेछ। कात्तिक १५ देखि २० गतेसम्म कार्यालय सञ्चालन हुनेछन्। त्यसपछि पाँच दिन कार्यालय खुलेलगत्तै छ दिन बिदा पर्नेछ।

तिहारपछि कात्तिक २७ गते शुक्रबार र ३० गते सोमबारमात्र कार्यालय खुल्नेछन्।

यस वर्ष दसैँअघि लगातार नौ दिन सार्वजनिक बिदा परेको थियो। उक्त अवधिमा चार दिन साप्ताहिक र पाँच दिन पर्व बिदा परेका थिए। यसअघि २०८१ सालमा दसैँअघि लगातार पाँच दिन र २०८२ सालमा छ दिन सार्वजनिक बिदा परेको थियो।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले २०८२ चैत २३ देखि शनिबारसँगै आइतबार पनि साप्ताहिक सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेको थियो। सरकारले तत्काल उक्त व्यवस्था पुनर्विचार नगर्ने स्पष्ट पारेको छ।

शनिबार र आइतबारको नियमित बिदासँगै पर्व तथा दिवसका बिदा पनि कायम रहँदा वर्षभरि सरकारी कार्यालय खुल्ने दिन घटेका छन्।

कार्यालय बिहान ९ बजेदेखि सञ्चालन हुने व्यवस्था भए पनि सेवाग्राही भने प्रायः १० बजेपछि मात्रै पुग्ने गरेका छन्। यसले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन चुनौती थपेको छ।

प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com