काठमाडौं । अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मन्त्रीले आफ्नो पद र जिम्मेवारीको सीमा ख्याल गर्नुपर्ने बताएका छन्।
भारतको टीभी च्यानल एडीटीभीले आयोजना गरेको कार्यक्रममा वाग्लेले नेपालमा ‘भारतविरोधी राष्ट्रवादको युग सकिएको’ धारणा राखेका थिए। उक्त अभिव्यक्तिले नेपालको लामो समयदेखिको परराष्ट्र नीतिको मर्ममा असर पार्न सक्ने भन्दै हमालले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले नेपालको परराष्ट्र नीति राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र दीर्घकालीन सिद्धान्तमा आधारित हुनुपर्ने उल्लेख गरेका छन्। कुनै पनि मन्त्री वा पदाधिकारीले व्यक्तिगत धारणा वा तत्कालीन राजनीतिक स्वार्थका आधारमा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच पुग्ने अभिव्यक्ति दिन नहुने उनको भनाइ छ।
‘नेपालको परराष्ट्र नीति सधैँ राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र दीर्घकालीन सिद्धान्तहरूमा आधारित रहँदै आएको छ। यो कुनै व्यक्तिको स्वेच्छा वा तत्कालीन राजनीतिक स्वार्थअनुसार सञ्चालन हुने विषय हुनु हुँदैन,’ हमालले लेखेका छन्।
नेपाल–भारत सम्बन्धको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक महत्त्वलाई स्वीकार गर्दै उनले छिमेकी मुलुकसँगको सम्बन्ध थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। तर, सम्बन्ध विस्तारका क्रममा नेपालको राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादालाई पनि उत्तिकै महत्त्व दिनुपर्ने उनको धारणा छ।
‘नेपाल–भारत सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको आपसी सम्बन्धमा गहिरोसँग जरा गाडेर बसेको छ। यस सम्बन्धलाई अझ सुदृढ बनाउनु स्वाभाविक मात्र होइन, आवश्यक पनि छ,’ उनले भनेका छन्।
छिमेकी मुलुकसँगको सम्बन्ध बलियो बनाउने इमानदार प्रयासको स्वागत गर्नुपर्ने बताउँदै हमालले नेपाली प्रतिनिधिहरूले राष्ट्रिय अडानलाई गरिमा, सन्तुलन र परिपक्वताका साथ प्रस्तुत गर्नुपर्ने उल्लेख गरेका छन्।
उनले नेपाल–भारत सम्बन्धलाई व्यक्तिगत चाकरीको प्रदर्शन वा सार्वजनिक उपहासको विषय बनाउन नहुने पनि बताएका छन्।
‘नेपाल–भारत सम्बन्ध ऐतिहासिक रूपमा अत्यन्त महत्त्वपूर्ण र रणनीतिक दृष्टिले यति संवेदनशील छ कि यसलाई व्यक्तिगत चाकरीका प्रदर्शन वा सार्वजनिक उपहास निम्त्याउने अभिव्यक्तिहरूमा सीमित गर्न मिल्दैन,’ उनको भनाइ छ।
नेपाल र भारतबीच समाधान हुन बाँकी सीमा विवाद तथा आर्थिक निर्भरताजस्ता विषय रहेको स्मरण गराउँदै हमालले यस्ता संवेदनशील मुद्दामा सरकारले आफ्नो धारणा स्पष्ट र निरन्तर रूपमा प्रस्तुत गर्नुपर्ने बताएका छन्। उनका अनुसार यस्ता विषयमा भाषणबाजीभन्दा स्थापित कूटनीतिक माध्यम, प्रमाण र मैत्रीपूर्ण संवादलाई प्राथमिकता दिनुपर्छ।
हमालले छिमेकी मुलुकसँगको मित्रता र राष्ट्रिय सार्वभौमिकताको रक्षा एकअर्काका विरोधी नभई परिपूरक दायित्व भएको पनि उल्लेख गरेका छन्।
‘छिमेकी राष्ट्रहरूसँगको मित्रता र आफ्नो सार्वभौमिकताप्रतिको अडिग प्रतिबद्धता एकअर्काका प्रतिस्पर्धी उद्देश्य होइनन्। यी त एकअर्काका पूरक दायित्व हुन्,’ उनले लेखेका छन्।
प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार












प्रतिक्रिया