काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आलोचना गर्दै उनलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत थापाले उक्त माग गरेका हुन्। अर्थमन्त्री वाग्लेले नेपालको राष्ट्रिय हित, स्वाभिमान र कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको आरोप लगाएका छन्। उनले वाग्लेलाई ‘महत्वाकांक्षी पदलोलुप’को संज्ञा दिँदै यस्ता व्यक्तिले देश बर्बाद पारिरहेको टिप्पणी गरे।

थापाले वाग्लेसँग व्यक्तिगत रूपमा खासै संगत नभए पनि प्रतिनिधि सभाको अर्थ समितिमा सँगै रहेर काम गरेको अनुभव रहेको उल्लेख गरेका छन्। २०७९ को निर्वाचनपछि आफू प्युठानबाट निर्वाचित भएर आएको र वाग्ले उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य बनेपछि अर्थ समितिमा सँगै काम गरेको उनले बताएका छन्।

थापाले अर्थ समितिमा वाग्लेको भूमिका र उपस्थितिमाथि प्रश्न उठाएका छन्। नयाँ स्टक एक्सचेञ्जसम्बन्धी निर्देशन, गोकर्ण फरेस्ट रिसोर्टमा भएको समितिको छलफल तथा वैकल्पिक विकास वित्त परिचालन कोष विधेयकका विषयमा वाग्लेको भूमिका विवादास्पद रहेको उनको दाबी छ।

उनका अनुसार अर्थ समितिले सर्वसम्मतिले पारित गरेको वैकल्पिक विकास वित्त परिचालन कोष विधेयक अर्थमन्त्री बनेपछि वाग्लेले संशोधन गरी त्यसका महत्त्वपूर्ण प्रावधान कमजोर बनाएको आरोप छ। संसद्ले पारित गरेको विधेयकको मूल मर्म प्रभावित भएको भन्दै थापाले असन्तुष्टि जनाएका छन्।

थापाले वाग्लेको परराष्ट्र मामिलासम्बन्धी अभिव्यक्तिमाथि पनि प्रश्न उठाएका छन्। विशेषगरी भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्रीसँगको अन्तरक्रियामा वाग्लेले दिएको अभिव्यक्ति र ‘राष्ट्रवादी देखिन भारतको विरोध गर्ने युग सकियो’ भन्ने भनाइलाई उनले नेपालको राष्ट्रिय स्वाभिमानविपरीत भएको टिप्पणी गरेका छन्।

भारतसँगको द्विपक्षीय बैठकमा नेपालको झण्डा राख्न नसकेको विषयलाई समेत थापाले आलोचनाको विषय बनाएका छन्। उनका अनुसार यस्ता गतिविधिले नेपालको कूटनीतिक मर्यादा र राष्ट्रिय हितप्रति सरकारको दृष्टिकोणमाथि प्रश्न उठाउँछन्।

अर्थमन्त्री वाग्लेको आर्थिक व्यवस्थापनसम्बन्धी भूमिकामाथि पनि थापाले आलोचना गरेका छन्। उनले अर्थतन्त्र सुधारमा अपेक्षित परिणाम नदेखिएको, कथित चिठ्ठा प्रकरण तथा बजेट वक्तव्यसँगै जोडिएको बीवाईडी विद्युतीय गाडीको भन्सारसम्बन्धी विवादमा सरकारले पर्याप्त जवाफदेहिता नदेखाएको आरोप लगाएका छन्।

थापाले वाग्लेको विगतको राजनीतिक तथा व्यावसायिक यात्रामाथि पनि टिप्पणी गरेका छन्। नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको सिफारिसमा अन्तर्राष्ट्रिय संस्थामा काम गर्न गएको र पछि अवसरको खोजीमा नेपाल फर्किएको उल्लेख गर्दै उनले वाग्लेको नेपालप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएका छन्।

विदेशी विश्वविद्यालयको शैक्षिक उपाधिलाई मात्र आधार बनाएर व्यक्तिलाई महत्त्व दिने प्रवृत्तिले नेपालका विश्वविद्यालयबाट उत्पादित योग्य जनशक्तिको अवमूल्यन भइरहेको थापाको भनाइ छ। उनले नेपाली बौद्धिक क्षेत्रलाई बेवास्ता गर्दै विदेशमा अध्ययन गरेका व्यक्तिलाई पटकपटक अवसर दिने प्रवृत्तिको आलोचना गरेका छन्।

थापाले अर्थमन्त्री वाग्लेको भारत भ्रमणका क्रममा व्यक्त अभिव्यक्ति अर्थ मन्त्रालयको कार्यक्षेत्रसँग असम्बन्धित रहेको र मन्त्रिपरिषद्को कार्यविभाजन व्यवस्थाविपरीत भएको दाबी गरेका छन्।

उनले प्रधानमन्त्रीलाई अर्थमन्त्री वाग्लेलाई यथाशीघ्र पदबाट बर्खास्त गर्न आग्रह गरेका छन्। अन्यथा राष्ट्रिय हित, स्वाभिमान र गरिमाविपरीतका गतिविधि अझ बढ्न सक्ने उनको आशंका छ।

प्रकाशित मिति: ११ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com