काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचनपछि पनि सरकार परिवर्तन गर्ने र ढाल्ने चर्चा सुरु हुनुलाई विडम्बनापूर्ण तथा चिन्ताजनक बताएका छन्। उनले निर्वाचित सरकारलाई संविधानको सीमाभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्ने धारणा राखेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्व सकिएलगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने र सरकार परिवर्तन गर्ने विषयमा चर्चा हुन थालेकोप्रति असन्तुष्टि जनाएका हुन्।
उनले बहुदलीय लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर प्रतिस्पर्धा तथा सहकार्य हुनुका साथै सदन र सडकमा आलोचना–प्रत्यालोचना हुनु स्वाभाविक र आवश्यक प्रक्रिया भएको उल्लेख गरेका छन्।
‘प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिएलगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने, सरकार परिवर्तन गर्ने आदि चर्चा चल्न थाल्नु विडम्बनापूर्ण र चिन्ताजनक छ,’ उनले लेखेका छन्।
निर्वाचनपछि पनि सरकार ढाल्ने र परिवर्तन गर्ने खेल दोहोरिरहँदा मुलुक अनिश्चिततातर्फ धकेलिने भट्टराईको तर्क छ। विगतमा पटकपटक सरकार परिवर्तन हुँदा त्यसका नकारात्मक परिणाम देखिइसकेको उल्लेख गर्दै उनले यस्तो प्रवृत्तिले अर्थतन्त्र कमजोर बनाउने, युवालाई विदेशिन बाध्य पार्ने र देशलाई भूराजनीतिक जोखिममा पार्ने चेतावनी दिएका छन्।
भट्टराईले देश र जनताप्रति जिम्मेवार सबै नागरिकलाई गम्भीर बन्न आग्रह गर्दै सरकार तथा राज्यका विभिन्न निकायलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिएका छन्। विशेषगरी विपत्तिमा परेका, ऐतिहासिक रूपमा वञ्चितीकरणमा परेका तथा गरिब र निमुखा नागरिकका आवाज सत्तामा रहेकाहरूले सुन्नुपर्ने उनको भनाइ छ।
जनताको आवाजलाई बेवास्ता गर्ने सत्तासीनहरूलाई विधिसम्मत प्रक्रियाबाट दण्डित गर्न र पदबाट हटाउनुपर्ने धारणा पनि उनले राखेका छन्।
‘अतः देश र जनताप्रति जिम्मेवार सबै नागरिक गम्भीर बनौँ! सरकार र सत्ताका विभिन्न अंगमा रहेकाहरूलाई निरन्तर खबरदारी गरौँ! विशेषतः विपत्तिमा परेका, ऐतिहासिक वञ्चितीकरणमा परेका, निर्धानिमुखा जनताको आवाजले सत्तामा रहनेहरूको कान घोचिरहौँ। सत्तामा बस्नेहरूले नसुने तिनलाई विधिसम्मत ढंगले दण्डित गरौँ, हटाऔँ!’ उनले भनेका छन्।
यद्यपि, निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर आफ्नो कार्यकाल पूरा गर्न दिनुपर्नेमा भट्टराईले जोड दिएका छन्। सरकारले काम गर्न नसके वा गलत काम गरे त्यसको जवाफदेहिता अर्को निर्वाचनमार्फत खोज्नुपर्ने उनको सुझाव छ।
‘परन्तु निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिऊँ! काम नगरे वा बिगारे अर्को चुनावबाट बिदा गरौँ!’ उनले लेखेका छन्।
प्रकाशित मिति: ११ कार्तिक २०८३, मंगलबार












प्रतिक्रिया