काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएयता चार सचिवसहित ४६४ जना निजामती कर्मचारीले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रिय किताबखाना (निजामती)का अनुसार गत साउन १ गतेदेखि हालसम्म राजपत्राङ्कित र राजपत्र अनङ्कित गरी ४६४ कर्मचारीले राजीनामा दिएका हुन्।

किताबखानाका निर्देशक तथा सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठका अनुसार राजीनामा दिनेमा २०७ जना राजपत्राङ्कित र २५७ जना राजपत्र अनङ्कित कर्मचारी छन्।

राजीनामा दिने राजपत्राङ्कित कर्मचारीमध्ये चार जना सचिव, ३३ जना सहसचिव, ७२ जना उपसचिव र ९८ जना शाखा अधिकृत तहका छन्।

त्यस्तै, राजपत्र अनङ्किततर्फ १३७ जना खरदार तथा नायब सुब्बा तहका र १२० जना श्रेणीविहीन कर्मचारीले राजीनामा दिएका छन्।

सरकारले प्रतिनिधिसभामा दर्ता गरेको निजामती कर्मचारी विधेयकमा नयाँ व्यवस्था प्रस्ताव गरेपछि कर्मचारीहरूको राजीनामा बढेको हो। विधेयकमा ऐन कार्यान्वयनमा आउँदा पहिलोपटक ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीले राजीनामा दिनुपर्ने व्यवस्था राखिएको छ।

यद्यपि, राजीनामा दिने कर्मचारीहरूले आफ्नो राजीनामा पत्रमा घरायसी कारण उल्लेख गरेको किताबखानाले जनाएको छ।

किताबखानाका अनुसार राजीनामा दिएका सबै कर्मचारीको राजीनामा सरकारले स्वीकृत गरिसकेको छ।

प्रकाशित मिति: ११ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com