काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकाल र राजनीतिक प्रभाव निर्धारण गर्ने मध्यावधि निर्वाचन आगामी नोभेम्बर ३ मा हुँदैछ। अमेरिकी कङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर तथा हजारौँ राज्यस्तरीय पदका लागि हुने निर्वाचनलाई ट्रम्प प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ।
निर्वाचनमा प्रतिनिधिसभाका ४३५ र सिनेटका ३५ सिटका लागि प्रतिस्पर्धा हुनेछ। प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ। हाल रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन्। सिनेटमा रिपब्लिकनका ५३ र डेमोक्रेटलाई समर्थन गर्ने दुई स्वतन्त्र सदस्यसहित विपक्षी पक्षका ४७ सिट छन्।
सिनेटको नियन्त्रण लिन डेमोक्रेटले कम्तीमा चार सिटको खुद लाभ हासिल गर्नुपर्नेछ। दुवै सदनमा बहुमत गुमाए ट्रम्प प्रशासनलाई आगामी दुई वर्ष नीति कार्यान्वयन र विधायिकी एजेन्डा अघि बढाउन कठिन हुन सक्छ।
मत सर्वेक्षणमा डेमोक्रेटले राष्ट्रिय स्तरमा अग्रता देखाएका छन्। पीबीएस न्युज, एनपीआर र मेरिस्टको सर्वेक्षणमा डेमोक्रेटलाई ५३ प्रतिशत र रिपब्लिकनलाई ४१ प्रतिशत समर्थन प्राप्त भएको उल्लेख छ। विभिन्न सर्वेक्षणमा ट्रम्पको कार्यसम्पादनप्रतिको अनुमोदन दर ३२ देखि ४१ प्रतिशतसम्म देखिएको छ।
एनबीसी न्युजको सर्वेक्षणमा ५५ प्रतिशत सहभागीले ट्रम्पका नीतिले अमेरिकी अर्थतन्त्रलाई हानि पुर्याएको बताएका थिए भने २६ प्रतिशतले ती नीतिले सहयोग गरेको धारणा राखेका थिए।
निर्वाचनमा राजनीतिक विज्ञापनमा मात्रै करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान छ। एडइम्प्याक्टले खर्च ११ अर्ब ६० करोड डलर र काइनेटिक पोलिटिकल इनसाइट्सले ११ अर्ब ९६ करोड डलर पुग्ने प्रक्षेपण गरेका छन्। सन् २०२२ को मध्यावधि निर्वाचनमा यस्तो खर्च आठ अर्ब ९० करोड डलर थियो।
यस वर्ष कङ्ग्रेसका प्रारम्भिक निर्वाचनमा दुई हजार ४९७ उम्मेदवार सहभागी भएका थिए। प्रतिनिधिसभाका ४४ प्रतिस्पर्धामा सन् २०२४ का प्रमुख दलका उम्मेदवार पुनः प्रतिस्पर्धामा छन्। राज्य तथा स्थानीय तहका निर्वाचनसमेत जोड्दा पुनः प्रतिस्पर्धाका यस्ता क्षेत्रको सङ्ख्या ४७४ पुगेको छ।
निर्वाचनको नतिजाले अमेरिकी कङ्ग्रेसमा शक्ति सन्तुलन बदल्न सक्ने भएकाले ट्रम्पको बाँकी कार्यकालमा प्रशासनको प्रभाव, नीतिगत प्राथमिकता र विपक्षी दलको भूमिका कस्तो रहने भन्ने विषयमा यसको परिणाम निर्णायक बन्ने देखिन्छ।
प्रकाशित मिति: ११ कार्तिक २०८३, मंगलबार












प्रतिक्रिया