काठमाडौं । सिरहाको गोलबजार नगरपालिकामा हाटबजारको ठेक्का र राजस्व सङ्कलनमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगरप्रमुख र उपप्रमुखसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले तत्कालीन नगरप्रमुख देवनाथ साह तेली, उपप्रमुख रेशमकुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्तकुमार पौड्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्रकुमार यादवलाई प्रतिवादी बनाएको हो।

आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु, बाख्रा तथा गुदरी हाटबजारको ठेक्का, राजस्व असुली र छुटसम्बन्धी निर्णयमा अनियमितता भएको आयोगको आरोप छ।

आयोगका अनुसार नगरपालिकाको आर्थिक ऐन तथा प्रचलित कानुनविपरीत २७ लाख ३४ हजार ९१३ रुपैयाँ छुट दिने निर्णय गरिएको थियो। त्यस्तै, प्रतिस्पर्धाबिना ठेकेदार यादवलाई हाटबजार सञ्चालनको जिम्मा दिएको र नगरपालिकाको सञ्चित कोषमा दाखिला हुनुपर्ने रकम असुल नगरेको आरोप छ।

यस प्रकरणमा प्रतिवादीहरूबाट फरक–फरक जिम्मेवारीअनुसार बिगो माग गरिएको छ। नगरप्रमुख तेली, उपप्रमुख थापा, प्रमुख प्रशासकीय अधिकृत केसी, राजस्व शाखा प्रमुख सहनी र ठेकेदार यादवविरुद्ध १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ बिगो माग गरिएको छ।

त्यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पौड्याल र निमित्त प्रमुख प्रशासकीय अधिकृत महतोविरुद्ध १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ बिगो माग गरिएको आयोगको आरोपपत्रमा उल्लेख छ।

आयोगले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको आरोपमा कानुनबमोजिम सजाय र बिगो असुलउपर गर्न माग गरेको छ। मुद्दामा प्रतिवादी बनाइएका व्यक्तिहरूको कसुर भने अदालतबाट पुष्टि हुन बाँकी छ।

प्रकाशित मिति: ११ कार्तिक २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com