काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले पनि सहरका नागरिकसरह राज्यबाट उपलब्ध हुने सेवा तथा सुविधाहरू पाउनुपर्ने बताएका छन्।

अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन हुम्ला पुगेका साम्पाङले शिक्षा, स्वास्थ्य, यातायातलगायत आधारभूत सेवासुविधा सहर केन्द्रित हुँदा ग्रामीण क्षेत्रका नागरिक प्रभावित भएको बताए। राज्यबाट हुने सेवासुविधाको असमान वितरणका कारण गाउँमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको उनको भनाइ थियो।

समयअनुसार आवश्यक सेवासुविधा सबै क्षेत्रमा उपलब्ध गराउन सके नागरिकले जुनसुकै ठाउँमा पनि सहज रूपमा जीवनयापन गर्न सक्ने उनले बताए।

यसैक्रममा साम्पाङले नदी पार गर्न तुइनको सहारा लिनुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। उनको हुम्ला भ्रमण सर्केगाड गाउँपालिका–२ स्थित खडीखेतमा कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माण गर्ने विषयसँग जोडिएको छ।

खडीखेतका स्थानीय जोखिम मोलेर तुइनको सहायताले कर्णाली नदी पार गर्न बाध्य भएको विषय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि साम्पाङले उक्त स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए।

उक्त स्थानमा पुल निर्माणका लागि कादुरी नामक गैरसरकारी संस्थामार्फत काम अघि बढाउने प्रक्रिया तय भइसकेको बताइएको छ। यद्यपि, पुल निर्माणको वास्तविक अवस्था, निर्माण कार्य सुरु हुने समय र स्थानीयले तुइन प्रयोग गर्नुपर्ने बाध्यता कहिलेसम्म अन्त्य हुन्छ भन्ने विषय अझै चासोको केन्द्रमा छ।

दुर्गम हिमाली जिल्ला हुम्लामा सडक, पुल तथा आधारभूत सेवासुविधाको अभावका कारण स्थानीय नागरिकले वर्षौँदेखि विभिन्न समस्या भोग्दै आएका छन्। यस्तो अवस्थामा झोलुङ्गे पुल निर्माणले स्थानीयको जोखिमपूर्ण यात्रा अन्त्य गर्न र आवतजावत सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com