काठमाडौं । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा आफूविरुद्ध चलाइएको बहिष्कार अभियानप्रति आपत्ति जनाएका छन्। आफ्नो सामान्य अभिव्यक्तिलाई केही अतिवादी कार्यकर्ताले बङ्ग्याएर तथा सम्पादन गरेर गलत अर्थ लगाएको र त्यसका आधारमा घृणा फैलाइएको उनको आरोप छ।
बुधबार फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै गिरीले आफू सधैँ भौतिक आक्रमणको विरोधमा र असहमतिलाई बौद्धिक बहसका माध्यमबाट व्यक्त गर्नुपर्ने पक्षमा रहेको स्पष्ट पारेका छन्।
‘कसैलाई लखेट्नु, पिट्नु, भगाउनु राम्रो होइन। यदि असहमति छ भने बौद्धिकताले लखेट्नुपर्छ भनेको यही नै थियो,’ उनले लेखेका छन्।
आफ्नो भनाइका केही अंश काटेर र थप व्याख्या जोडेर सामाजिक सञ्जालमा आफूविरुद्ध बहिष्कारको अभियान चलाइएको भन्दै उनले आश्चर्य व्यक्त गरेका छन्।
‘तर मेरो अभिव्यक्तिलाई केही अतिवादी कार्यकर्ताहरूले अनेकौँ फुर्का थपेर, बीचका अंश सम्पादन गरेर, गलत व्याख्या लगाउँदै मेरो फोटो राख्दै बहिष्कारको नारा लगाएर सामाजिक सञ्जाल रङ्गाएको देख्दा ताजुब नै लाग्यो !’ उनले भनेका छन्।
गिरीले पछिल्लो समय समाजका विभिन्न विषयमा जातीयता जोड्ने र वर्षौँदेखि कायम सामाजिक सहिष्णुता खल्बल्याउने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
कला तथा संस्कृति क्षेत्रमा समेत जातपातका आधारमा विभाजन सिर्जना गरी घृणा फैलाउने प्रवृत्तिको आफू सधैँ विरोधमा रहेको र आगामी दिनमा पनि त्यसको विपक्षमा उभिइरहने उनले बताएका छन्।
गत सोमबार चलचित्र ‘छ माया छपक्कै २’ को प्रदर्शनको नौ दिनको बक्स अफिस रिपोर्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न भिडियोहरू सार्वजनिक भइरहेका छन्। बक्स अफिसमा अपेक्षाअनुसारको नतिजा नआएको प्रसङ्गसँगै दीपकराजका पुराना अभिव्यक्तिका सम्पादित क्लिपहरू पनि सामाजिक सञ्जालमा प्रसारित भइरहेका छन्।
प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार












प्रतिक्रिया