काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्समाथि ६ विकेटको सहज जित हात पारेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १ सय ४६ रनको विजयी लक्ष्य सुदूरपश्चिमले १९ बल बाँकी छँदै १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले कप्तानी इनिङ्स खेले। उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ५१ रन बनाए।

यसैगरी, इशान पाण्डेले ३१ बलमा २ चौका र २ छक्कासहित ३७ रनको महत्वपूर्ण योगदान दिए। ५६ रनमै ३ विकेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमका लागि दीपेन्द्र र इशानले चौथो विकेटका लागि ७४ रनको म्याच-विनिङ साझेदारी गरेका थिए।

इशान १५.३ ओभरमा महेदी हसनको बलमा एलबीडब्लु आउट भएपछि क्रिजमा आएका शेर्फेन रदरफोर्डले ४ बलमा १ छक्कासहित अविजित ८ रन जोड्दै टोलीलाई जित दिलाए।

यसअघि लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले पहिलो ओभरको पाँचौं बलमै ओपनर विनोद भण्डारीलाई ४ रनमा गुमाएको थियो।

अर्का ओपनर सेफ जेब १६ बलमा १५ रन बनाएर रनआउट भए। ब्रान्डन म्याकमुलनले १२ बलमा २ चौका र १ छक्कासहित २२ रनको आक्रामक इनिङ्स खेलेका थिए।

पोखराका बलरहरूमध्ये शकिब अल हसनले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए। धनञ्जय लक्षणले २ ओभरमा १७ रन दिएर १ विकेट तथा महेदी हसनले ४ ओभरमा ३१ रन दिएर १ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४५ रनको योगफल तयार पारेको थियो।

पोखराका लागि तल्लो क्रममा विकेटकिपर ब्याटर अर्जुन घर्तीले सर्वाधिक अविजित ४० रनको योगदान दिए। उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै ओपनर महेदी हसनले ३२ रन, कप्तान कुशल भुर्तेलले २१ रन र शकिब अल हसनले १४ रन जोडे।

बलिङतर्फ सुदूरपश्चिमका स्पिनर अनिल खरेलले ३ ओभरमा २३ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए। अलराउन्ड प्रदर्शन गरेका कप्तान दीपेन्द्रले ४ ओभरमा मात्र २१ रन दिएर १ विकेट लिए। हेमन्त धामी र स्कट कुगेलेइनले समान १-१ विकेट हात पारेका थिए।

प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com