काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको बैठकमा अनुपस्थित भएका छन्। पार्टीले सार्वजनिक पद तथा औपचारिक र सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएपछि उनी बिहीबार बसेको उपसमितिको बैठकमा उपस्थित नभएका हुन्।

एक महिलालाई लक्षित गरी आपत्तिजनक भाषा प्रयोग गर्दै धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद सुनारमाथि छानबिन अघि बढाएको छ। छानबिन प्रक्रिया पूरा नभएसम्म उनलाई सार्वजनिक तथा औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको छ।

यसैबीच, बिहीबार बिहान सिंहदरबारमा निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक बसेको थियो। बैठकमा उपसमितिको कार्यविधिबारे छलफल भएको छ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गत १६ असोज २०८३ मा निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी विषय अध्ययन गर्न नौ सदस्यीय उपसमिति गठन गरेको थियो। रास्वपा सांसद मनिष झाको नेतृत्वमा गठित उपसमितिको पहिलो बैठक २१ असोजमा बसेको थियो। पहिलो बैठकमा प्रारम्भिक छलफल भएको थियो भने दोस्रो बैठकमा अध्ययनको कार्यविधिबारे छलफल गरिएको हो।

उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन्।

प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com