न्युयोर्क । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचन नजिकिँदै जाँदा रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच चुनावी प्रतिस्पर्धा तीव्र बनेको छ। प्रचारको अन्तिम चरणमा पूर्वराष्ट्रपति बाराक ओबामा र राष्ट्रपति डोनाल्ड ट्रम्पले एकअर्काको आलोचना गर्दै मतदाता आकर्षित गर्ने प्रयास गरेका छन्।
बुधबार ओबामाले जर्जियाको एटलान्टामा आयोजित सभामा ट्रम्प प्रशासनमाथि भ्रष्टाचारको आरोप लगाउँदै इरानसँगको युद्धको आलोचना गरे। उता ओहायोमा आयोजित सभामा ट्रम्पले ओबामाको चुनावी प्रचारले खासै प्रभाव नपार्ने दाबी गरे।
दुवै नेताबीच ह्वाइट हाउसको आन्तरिक सजावटलाई अमेरिकी रेस्टुरेन्ट ‘चिजकेक फ्याक्ट्री’सँग तुलना गरिएको विषयमा पनि विवाद चर्किएको छ। ओबामाले आफ्नो टिप्पणीप्रति ट्रम्पले देखाएको प्रतिक्रियालाई व्यङ्ग्य गरेका छन्।
सीएनएनका अनुसार दुवै पार्टीले निर्वाचनअघि प्रभावशाली नेताहरूलाई प्रचारमा उतारेर मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन्। यसपटक प्रतिनिधिसभा र सिनेटमा नियन्त्रण कायम गर्ने प्रतिस्पर्धा मुख्य बनेको छ।
अलास्कामा ‘स्पोइलर’ उम्मेदवारको विवाद
अलास्काको सिनेट निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार मेरी पेल्टोलासँग जोडिएको कथित ‘स्पोइलर’ उम्मेदवार विवादले चुनावी माहोल थप तातेको छ।
न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, पेल्टोलासँग सम्बन्धित डेमोक्रेटिक रणनीतिकारहरूले रिपब्लिकन उम्मेदवार ड्यान सुलिभानको मत काट्न सक्ने अर्को उम्मेदवारलाई मैदानमा उतार्न सहयोग गरेको आरोप लागेको छ। ती उम्मेदवारको नाम पनि ड्यान सुलिभान नै रहेको बताइएको छ।
राष्ट्रपति ट्रम्पले पेल्टोलालाई प्रतिस्पर्धाबाट पछि हट्न आग्रह गर्दै कथित योजनामा संलग्न भएको आरोप लगाएका छन्। तर पेल्टोलाको चुनावी अभियान र डेमोक्रेटिक सिनेटरियल क्याम्पेन कमिटीले उक्त योजनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।
मिसिगनमा विज्ञापनलाई लिएर विवाद
मिसिगनको सिनेट निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार अब्दुल एल–सयदका विवादास्पद विज्ञापनलाई लिएर पार्टीभित्रै असन्तुष्टि देखिएको छ।
डेमोक्रेटिक सांसद हेली स्टिभेन्सले एल–सयदका विज्ञापनबाट चोट पुगेका व्यक्तिलाई सम्बोधन गर्नुपर्ने बताउँदै ती विज्ञापनको निन्दा गरी हटाउन आग्रह गरेकी छन्। विवादका बाबजुद आफू डेमोक्रेटिक उम्मेदवारलाई नै मत दिने उनको भनाइ छ।
यसैबीच, सिनेटर बर्नी स्यान्डर्सले एल–सयदको मुस्लिम धर्मलाई लिएर ट्रम्पले गरेका टिप्पणीको आलोचना गरेका छन्।
टेक्सासमा मतगणनासम्बन्धी मुद्दा
टेक्सासको पोटर काउन्टीका रिपब्लिकन नेताहरूले निर्वाचनको नतिजा प्रमाणित गर्नुअघि सबै मतपत्र हातैले गन्नुपर्ने माग गर्दै संघीय अदालतमा मुद्दा दायर गरेका छन्।
विदेशी ह्याकर वा कृत्रिम बुद्धिमत्ताका कारण मतगणनामा त्रुटि हुन सक्ने उनीहरूको दाबी छ। टेक्सासको कानुनले निर्वाचनपछि केही मतपत्र नमुनाका रूपमा छनोट गरी हातैले परीक्षण गर्ने व्यवस्था गरेको छ। रिपब्लिकन पक्षले भने त्यसलाई पर्याप्त मानेको छैन।
न्यू ह्याम्पसायरमा पनि कडा प्रतिस्पर्धा
न्यू ह्याम्पसायरको सिनेट निर्वाचनमा रिपब्लिकन उम्मेदवार जोन ई. सुनुनु र डेमोक्रेटिक उम्मेदवार क्रिस पापासबीचको बहसमा पनि आरोप–प्रत्यारोप भएको छ।
सुनुनुले पूर्वउपराष्ट्रपति कमला ह्यारिस र क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमसँग पापासले गरेको चुनावी सहकार्यको आलोचना गरेका थिए। पापासले भने ट्रम्पको समर्थन पाएका सुनुनुमाथि भ्रष्टाचारको आरोप लगाएका छन्।
ट्रम्पको लोकप्रियतामा आएको गिरावटले प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीलाई फाइदा पुग्न सक्ने अनुमान गरिएको छ। यद्यपि, राष्ट्रिय स्तरमा डेमोक्रेटिक पार्टीप्रतिको मतदाताको धारणा पनि सकारात्मक नरहेको सर्वेक्षणहरूले देखाएको समाचारमा उल्लेख छ।
नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा प्रतिनिधिसभा र सिनेटमा नियन्त्रण कायम गर्ने प्रतिस्पर्धा भइरहेका बेला चुनावी विज्ञापन, मतगणनासम्बन्धी कानुनी विवाद र शीर्ष नेताहरूको आरोप–प्रत्यारोपले अमेरिकी राजनीतिक माहोल तातेको छ।
प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार












प्रतिक्रिया