काठमाडौं । बिचौलियाको काम गरेको आरोपमा पक्राउ परेका इनम सापकोटामाथि अनुसन्धान जारी रहेकाले मुद्दासँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण र सूचना सार्वजनिक नगर्न प्रहरीले आग्रह गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार विज्ञप्ति जारी गर्दै सापकोटासम्बन्धी अनुसन्धानबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको हो।

प्रहरीका अनुसार उक्त मुद्दाको अनुसन्धान प्रचलित कानुन र निर्धारित प्रक्रियाअनुसार गोप्य रूपमा भइरहेको छ। अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको पनि परिसरले स्पष्ट पारेको छ।

अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न प्रतिबद्ध रहेको जनाउँदै प्रहरीले समाचार प्रकाशनअघि तथ्य र सूचनाको आधिकारिकता पुष्टि गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

अनुसन्धानको संवेदनशीलता र कानुनी व्यवस्थाविपरीत सामग्री सार्वजनिक गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भन्दै प्रहरीले कानुनअनुसार कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले पनि सापकोटासँग आफ्नो चिनजान वा सम्पर्क नरहेको भन्दै उनीसँग जोडेर प्रकाशित आरोपहरूको खण्डन गरेका थिए। उनले ती आरोपलाई भ्रामक र निराधार बताएका थिए।

प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com