काठमाडौं । वर्षौँसम्म काम नगरी सडक आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइने भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले बताएका छन्।

मन्त्रालय र सडक विभागले अलपत्र सडकका ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको जनाउँदै मन्त्री लम्सालले लामो समयसम्म काम नगर्ने प्रवृत्ति अब स्वीकार्य नहुने बताएका हुन्।

यसैक्रममा इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक खण्डको ठेक्का सम्झौता अन्त्य गरिएको छ।

२०७८ असार २९ गते भ्याटसहित २७ करोड २२ लाख रुपैयाँमा सम्झौता भएको उक्त सडक २०८० पुस २९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो। पटक–पटक म्याद थप गरी कुल ६३ महिना समय उपलब्ध गराउँदासमेत आयोजनाको वित्तीय प्रगति ४५.२८ प्रतिशत र भौतिक प्रगति करिब ४७ प्रतिशतमा सीमित भएपछि ठेक्का तोडिएको हो।

अधुरो सडक निर्माण पूरा गर्न आवश्यक स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्काको सहमति जुटाएर नयाँ ठेक्का प्रक्रिया शीघ्र अघि बढाइने जनाइएको छ।

मन्त्री लम्सालले अलपत्र आयोजनालाई पुरानै अवस्थामा छाड्नुको सट्टा आवश्यक कानुनी प्रक्रिया पूरा गरी निर्माणलाई गति दिने सरकारको नीति रहेको बताएका छन्।

प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com