काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका चाडपर्व तथा शुभकामना आदानप्रदानका कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी समुदायसँग जोड्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहणपछि सम्बोधन गर्दै थापाले पार्टीका विभिन्न तहका कमिटीले आयोजना गर्ने सम्मान तथा शुभकामना कार्यक्रमको स्वरूप परिवर्तन गर्नुपर्ने बताएका हुन्।

नेता–कार्यकर्ताहरू विभिन्न स्थानमा पुगेर पटक–पटक सम्मान ग्रहण गर्ने र औपचारिक कार्यक्रममा सहभागी हुने अभ्यास अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।

‘अब यहाँ आज हामीले कार्यक्रम गर्‍यौँ, सकियो। फेरि यहाँबाट फर्केर गएपछि टोलमा सम्मान, वडामा सम्मान, क्षेत्रमा सम्मान, गाउँमा सम्मान यो बन्द गरौँ। एकैपटक बस्यौँ, यो जिम्मेवारी लियौँ, सकियो अब,’ उनले भने।

पार्टीका सबै तहले आयोजना गर्ने शुभकामना आदानप्रदानका कार्यक्रम समुदायसँग प्रत्यक्ष जोडिनुपर्नेमा उनले जोड दिए।

‘हामी सबैले सबैलाई शुभकामना दिएकै छौँ। हाम्रो शुभकामना आदानप्रदानको कार्यक्रम पनि कुनै पनि पार्टी कमिटीले गर्छ भने त्यो कार्यक्रम समुदायसँग जोडिनुपर्छ,’ थापाले भने।

चाडपर्वका नाममा औपचारिक कार्यक्रम आयोजना गर्ने, नेताहरूले भाषण गर्ने र शुभकामना आदानप्रदानमै सीमित हुने परम्परा परिवर्तन गर्नुपर्ने उनले बताए।

यसपटक तिहार, छठलगायत चाडपर्वका अवसरमा पार्टीका कुनै पनि तहले आयोजना गर्ने कार्यक्रमलाई नयाँ ढङ्गले सञ्चालन गर्नुपर्ने उनको निर्देशन थियो।

‘यो पटकका हाम्रा तिहारका कार्यक्रम, छठका कार्यक्रम र शुभकामना कार्यक्रम पार्टीको कुनै पनि तहले अब शुभकामना आदानप्रदान राख्ने, हामीहरू त्यहाँ जाने, फेरि कार्यक्रममा गएर बस्ने, लामबद्ध भाषण गर्ने यो सबै कार्यक्रमलाई हामी बदल्छौँ,’ उनले भने।

प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com