काठमाडौं । सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को अप्रिलदेखि जुनसम्मको तीन महिनामै नेपालमा नियम उल्लंघन गरेको भन्दै २० लाखभन्दा बढी भिडियो हटाएको छ।

टिकटकले सार्वजनिक गरेको ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ अनुसार समीक्षा अवधिमा नेपालबाट पोस्ट गरिएका २० लाख ३६ हजार १९१ भिडियो हटाइएका हुन्। यो अवधिमा नेपालमा अपलोड गरिएका कुल भिडियोको ०.४ प्रतिशत हो।

प्रतिवेदनअनुसार हटाइएका भिडियोमध्ये ९९.५ प्रतिशत प्रयोगकर्ता वा सर्वसाधारणले उजुरी गर्नुअघि नै स्वचालित प्रणालीबाट पहिचान गरी हटाइएका थिए। त्यस्तै, ९२.३ प्रतिशत भिडियो अपलोड भएको २४ घण्टाभित्र हटाइएको थियो।

यद्यपि, आन्तरिक पुनरावलोकन र प्रयोगकर्ताको अपिलपछि गल्तीवश हटाइएका ३३ हजार ५०३ भिडियो पुनःस्थापना गरिएको टिकटकले जनाएको छ।

विश्वभर १८ करोडभन्दा बढी भिडियो हटाइए

समीक्षा अवधिमा टिकटकले विश्वभरबाट १८ करोड ८२ लाख ९८ हजार १४१ भिडियो हटाएको छ। यो अवधिमा प्लेटफर्ममा पोस्ट गरिएका कुल भिडियोको करिब ०.५ प्रतिशत हो।

नक्कली खाता र उमेर नपुगेका प्रयोगकर्तामाथि कारबाही

प्रतिवेदनअनुसार टिकटकले विश्वभर १४ करोड ६८ लाखभन्दा बढी नक्कली खाता हटाएको छ। त्यस्तै, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले सञ्चालन गरेको आशंकामा दुई करोड ६८ लाख ४० हजार ७६७ खाता बन्द गरिएको छ।

समुदाय निर्देशिका उल्लंघन गर्ने २७ करोड ८३ लाखभन्दा बढी टिप्पणीसमेत हटाइएको कम्पनीले जनाएको छ।

प्रत्यक्ष प्रसारणमा पनि कडाइ

टिकटकले प्रत्यक्ष प्रसारणका क्रममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न पनि कारबाही तीव्र बनाएको छ। प्रतिवेदनअनुसार समीक्षा अवधिमा कुल प्रत्यक्ष प्रसारण सामग्रीमध्ये २.४ प्रतिशत निलम्बन गरिएको थियो।

यस अवधिमा सात करोड ६७ लाख २१ हजार ९३ प्रत्यक्ष प्रसारण सत्र र दुई करोड ६७ लाख ८१ हजार १३५ प्रत्यक्ष प्रसारणकर्तामाथि चेतावनी वा आम्दानी गर्ने सुविधा हटाउनेलगायतका कारबाही गरिएको छ। समीक्षा प्रक्रियापछि २३ लाख ९८ हजार ८४६ प्रत्यक्ष प्रसारण सत्र पुनःस्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com