काठमाडौं । भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल बदरीनाथ धामबाट देहरादुन फर्किँदै गरेको हेलिकप्टर शुक्रबार दुर्घटनामा परेको छ। दुर्घटनापछि हेलिकप्टरका पाइलटसहित ६ जना यात्रु सम्पर्कविहीन भएका छन्।
प्रारम्भिक जानकारीअनुसार हेलिकप्टर बदरीनाथबाट देहरादुनको सहस्रधाराका लागि उडेको थियो। चमोली हुँदै गइरहेको हेलिकप्टर दुर्घटनामा परेको खबरपछि यात्रु र चालक दलका सदस्यको अवस्थाबारे खोजी भइरहेको छ।
घटनालगत्तै उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण र प्रहरीको टोली खोजी तथा उद्धारमा परिचालन गरिएको छ। उद्धार टोलीले रेडियो तथा अन्य सञ्चार माध्यमबाट पाइलटसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ।
तर, दुर्घटनास्थल आसपासको प्रतिकूल मौसमका कारण खोजी कार्य प्रभावित भएको छ। खराब मौसमकै बीच ड्रोनको सहायताले हेलिकप्टरको अवस्थिति पत्ता लगाउने प्रयास भइरहेको प्रशासनले जनाएको छ।
हेलिकप्टर दुर्घटनाको कारण खुल्न सकेको छैन। यात्रु तथा चालक दलका सदस्यको अवस्थाबारे पनि आधिकारिक विवरण सार्वजनिक भएको छैन।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया