वीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबीच विवाद चर्किएपछि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन्।

शनिबार बिहान गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीसहितको टोलीले वडा नम्बर–३ मा रहेको स्वास्थ्य चौकी उद्घाटन गर्न खोजेपछि विपक्षी समूहले त्यसको विरोध गरेको थियो। विरोधका क्रममा दुवै पक्षबीच भनाभन सुरु भई विवादले उग्ररूप लिएको थियो।

स्थिति तनावपूर्ण बन्दै गएपछि दुई समूहबीच झडप भएको र प्रहरीले भीड नियन्त्रण गर्न लाठीचार्ज गरेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार भीड नियन्त्रणबाहिर गएपछि प्रहरीले हवाई फायर गरेको थियो। तर, घटनामा एक युवक गोली लागेर घाइते भएका छन्। ती युवकलाई कसको गोली लागेको हो भन्नेबारे यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

घाइते युवकको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको पहिचानसमेत खुल्न नसकेको प्रहरीले बताएको छ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नजिकै भएको उक्त घटनापछि फेटा गाउँपालिकाको वडा नम्बर–३ स्थित स्वास्थ्य चौकी उद्घाटन कार्यक्रम प्रभावित भएको छ।

प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com