काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले आर्थिक अनियमितता र प्रहरी आचरणविपरीत काम गर्ने कर्मचारीलाई कुनै छुट नदिइने चेतावनी दिएका छन् ।
आइतबार आयोजित सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा बोल्दै उनले राज्यले उपलब्ध गराएको सेवा–सुविधाप्रति असन्तुष्ट हुने कर्मचारीले जागिर छाड्न सक्ने तर प्रहरी पोसाकको आडमा अनियमितता गर्नेले उन्मुक्ति नपाउने स्पष्ट पारे ।
काफ्लेका अनुसार चालु आर्थिक वर्ष सुरु भएयता मात्रै आचरणविपरीत काम गरेको आरोपमा २० देखि २५ जना प्रहरी कर्मचारीले जागिर गुमाइसकेका छन् ।
‘हामीलाई आर्थिक अनियमितताको आरोप लाग्नुजति दुःखद कुरा अरू केही हुँदैन,’ उनले भने, ‘राज्यले दिएको तलबमा सन्तुष्ट हुनुपर्छ । चित्त बुझ्दैन भने अन्य क्षेत्रमा जाने विकल्प खुला छ, तर नियमविपरीत काम गर्ने कसैले पनि उन्मुक्ति पाउँदैन ।’
सडकमा नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले ट्राफिक प्रहरीको व्यवहार सभ्य, जिम्मेवार र परिस्थितिअनुकूल हुनुपर्नेमा उनले जोड दिए । सडकमा देखिने सबै घटनालाई एउटै दृष्टिकोणबाट हेर्न नहुने भन्दै उनले कर्मचारीलाई विवेकपूर्ण ढंगले निर्णय लिन निर्देशन दिए ।
उनले घाइतेलाई अस्पताल पुर्याउन हतारिएको व्यक्ति र मादक पदार्थ सेवन गरी नियम उल्लंघन गर्दै सवारी चलाउने व्यक्तिबीचको अवस्थालाई उदाहरण दिँदै परिस्थितिको गम्भीरता बुझेर स्वविवेक प्रयोग गर्नुपर्ने बताए ।
तर, जानाजानी कानुन उल्लंघन गर्ने र सडकमा होहल्ला गर्नेहरूमाथि भने कानुनअनुसार कडा कारबाही गर्न उनले निर्देशन दिए ।
ट्राफिक प्रहरीको कामकारबाहीका कारण सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था आउन नहुने उल्लेख गर्दै काफ्लेले व्यक्तिगत स्वार्थभन्दा नागरिकको हितलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न मातहतका कर्मचारीलाई सचेत गराएका छन् ।
प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया