काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधान न्यायाधीशबाहेक सर्वोच्च अदालतका न्यायाधीशहरूलाई महाभियोग लगाउन सक्ने गरी निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिएको छ ।

प्रधान न्यायाधीश डा. मनोज शर्मा, न्यायाधीश हरि फुयाललगायत न्यायाधीशहरूको ‘कनेक्सन’ बिचौलिया इनम सापकोटासँग रहेको घटना सार्वजनिक भएसँगै रास्वपाले यस विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउन पार्टीकै संसदीय दललाई निर्देशन दिएको थियो ।

हिजो (शनिबार) केन्द्रीय कार्यालय वनस्थलीमा पाँच घण्टा बसेको सचिवालय बैठकले बिचौलियासँग न्यायमूर्तिहरूको ‘कनेक्सन’ र संविधान विपरीत प्रहरी प्रशासनले विभिन्न सञ्चार गृहमा गरिएको धरपकडलाई लिएर गम्भीर छलफल गरेको थियो । बैठकमा अधिकांश सदस्यले सरकारको कार्यशैली र बिचौलिया सापकोटासँग ‘कनेक्सन’ रहेको विषयमा पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

स्रोतका अनुसार सभापति रवि लामिछाने प्रधान न्यायाधीश शर्मालाई महाभियोगको विपक्षमा उभिएका थिए । यद्यपि बिचौलियासँग साँठगाँठ रहेका अन्य न्यायाधीशको हकमा महाभियोग प्रक्रिया अगाडि बढाउन लामिछाने सकारात्मक देखिएका थिए ।

सचिवालय बैठक बस्नुअघि सभापति लामिछानेले प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, पार्टी उपसभापति एवं अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, उपसभापति एवं कानुनमन्त्री सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्य, कानुनी पृष्ठभूमिका रास्वपा सांसदहरूसँग परामर्शसमेत गरेका थिए ।

शुक्रबार लामिछाने निवास बुढानीलकण्ठमा भएको छलफलमा सांसदहरूले बिचौलियासँग न्यायमूर्तिहरूको ‘नेक्सस’ न्यायिक इतिहासकै नाङ्गो रूप भएकाले पार्टीले तत्काल संसदीय दल बैठक र संसद् बैठक बोलाउन निर्देशन दिनुपर्ने सुझाव दिएका थिए ।

सचिवालय बैठकमा यस विषयमा लामो छलफल पश्चात प्रधान न्यायाधीशको हकमा स्पष्ट प्रमाण सार्वजनिक नभएकाले सबैलाई एकै डालोमा राखेर कारबाही प्रक्रिया अगाडि बढाउन नहुने पक्षमा लामिछानेले अडान लिएका थिए । त्यसपछि विवादित न्यायाधीशहरूलाई मात्र कारबाही प्रक्रिया अगाडि बढाउने गरी संसदीय दललाई निर्देशन दिएको बुझिएको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com