काठमाडौं । सरकारले दुई हजार युवालाई निःशुल्क ‘प्रम्प्ट इन्जिनियरिङ’ तालिम दिने उद्देश्यले सञ्चालनमा ल्याएको अनलाइन आवेदन फाराम गुगलले बन्द गरिदिएको छ। सेवा सर्त तथा नीति उल्लङ्घन भएको भन्दै गुगलले फाराम सार्वजनिक भएको २४ घण्टा नबित्दै निष्क्रिय पारेको हो।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले युवालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले ‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ नामक निःशुल्क तालिम सञ्चालन गर्ने घोषणा गरेको थियो। मन्त्रालयको योजनाअनुसार आगामी बुधबार र बिहीबार चार सिफ्टमा गरी दुई हजार युवालाई अनलाइनमार्फत तालिम दिने तयारी थियो।
तर, आवेदन खुला गरिएको भोलिपल्टै गुगलले उक्त फाराममा पहुँच बन्द गरिदिएपछि तालिमका लागि आवेदन दिने प्रक्रिया प्रभावित भएको छ। हाल फाराम खोल्दा गुगलले आफ्नो सेवा सर्त उल्लङ्घन भएको भन्दै पहुँच उपलब्ध गराउन नसकिने सूचना देखाउने गरेको छ।
प्राविधिक जानकारहरूका अनुसार गुगल फर्मको निःशुल्क संस्करणमा छोटो समयमै अत्यधिक ट्राफिक आउँदा प्रणालीले त्यसलाई शङ्कास्पद गतिविधिका रूपमा पहिचान गरी स्वतः निष्क्रिय पार्न सक्छ। यद्यपि, गुगलले कुन विशेष नीतिका आधारमा फाराम बन्द गरेको हो भन्ने विषय भने स्पष्ट हुन सकेको छैन।
फाराम बन्द भएपछि यसअघि आवेदन दिएका युवाहरूको व्यक्तिगत विवरण सुरक्षित रहे–नरहेको र मन्त्रालयले पुनः नयाँ आवेदन प्रक्रिया सुरु गर्ने वा नगर्ने भन्ने विषयमा अन्योल उत्पन्न भएको छ।
यस घटनाले सरकारी निकायले नागरिकको व्यक्तिगत विवरण सङ्कलन गर्दा प्रयोग गर्ने डिजिटल प्रणालीको सुरक्षामाथि समेत प्रश्न उठाएको छ। आफ्नै आधिकारिक तथा सुरक्षित अनलाइन पोर्टल प्रयोग गर्नुको सट्टा निःशुल्क गुगल फर्ममार्फत आवेदन सङ्कलन गरिएको भन्दै आलोचना भइरहेको छ। प्राविधिक क्षेत्रका जानकारहरूले सरकारी निकायले नागरिकका व्यक्तिगत विवरणको सुरक्षा र डेटा गोपनीयतालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया