काठमाडौं । नेपाली कांग्रेसले पत्रकार पक्राउ तथा धरपकडलगायत सरकारका विवादित गतिविधिको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकार धरपकडसहित पछिल्ला सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन आवश्यक रहेको निष्कर्ष निकाल्दै विशेष समिति गठनको माग गर्ने निर्णय गरेको हो ।

बैठकपछि संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकार पक्राउ र समाचार कक्षमै प्रहरी परिचालन गरिएको घटनाप्रति आपत्ति जनाए । पक्राउको स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी सञ्चारमाध्यममा प्रहरी परिचालन गर्नु स्वतन्त्र पत्रकारितामाथिको दबाब र विधिको शासनविपरीत भएको उनको भनाइ छ ।

‘पत्रकार धरपकडलगायत यससँग जोडिएका सरकारी सबै विवादित गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्दछ । दोषीलाई कानुनी कारबाही गर्नुपर्दछ । यसका लागि संसदीय विशेष समिति गठन गर्नुपर्दछ,’ आङ्देम्बेले भने ।

कांग्रेस संसदीय दलले पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक निकायको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको ठहर गरेको छ ।

आङ्देम्बेले जनसरोकार र सुशासनका विषयमा सरकारले गर्ने सकारात्मक काममा कांग्रेसको समर्थन रहने तर लोकतान्त्रिक मूल्य, शक्ति पृथकीकरण र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भए प्रतिवाद गर्ने स्पष्ट पारे ।

उनले न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्नेमा जोड दिँदै सरकारले आफूले गरेका कामको जवाफ दिनु नपर्ने मानसिकताका साथ गतिविधि गरिरहेको आरोपसमेत लगाए ।

कांग्रेसको बुझाइमा सरकारका पछिल्ला गतिविधि मुलुकको संवैधानिक संरचनालाई कमजोर पार्दै आफूअनुकूल शासन व्यवस्था स्थापित गर्ने सुनियोजित प्रयासको शृङ्खलाका रूपमा देखिएका छन् ।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com