काठमाडौं । ‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभ राज पन्तले इनाम सापकोटा प्रकरणलाई नेपाली राजनीतिमा जरा गाडेर बसेको शक्ति, पैसा र प्रभावको सञ्जालसँग जोडेर व्याख्या गरेका छन्। उनले यस्ता प्रकरणमा सतहमा देखिएका पात्रमाथि मात्र कारबाही गरेर समस्या समाधान नहुने भन्दै त्यसको जरोसम्म पुग्ने रणनीति आवश्यक रहेको बताएका छन्।

सामाजिक तथा राजनीतिक वृत्तमा चर्चामा रहेको इनाम सापकोटा प्रकरणबारे टिप्पणी गर्दै पन्तले यसलाई एउटा प्रतिनिधि घटना मात्र भएको बताएका हुन्। उनका अनुसार यस्ता गतिविधिको पछाडि लामो समयदेखि विकसित हुँदै आएको शक्ति र प्रभावको सञ्जाल हुन सक्छ, जसलाई सामान्य अनुसन्धान वा प्रचारमुखी कारबाहीबाट नियन्त्रण गर्न सम्भव छैन।

‘इनाम सापकोटा प्रकरण एउटा प्रतिनिधि पात्र मात्र हो। सम्बन्धित व्यक्तिले त विगतको पुस्ताबाट प्राप्त विरासतलाई अगाडि बढाएको मात्र हुन सक्छ। यसको जालो निकै ठूलो छ। यसलाई काट्न खोज्ने व्यक्ति आफैँ फस्नुपर्ने अवस्था पनि आउन सक्छ,’ उनले भने।

पन्तले शक्तिका बिचौलियाहरूको पहुँच काठमाडौंमा मात्र सीमित नरहेको टिप्पणी गर्दै वासिङ्टनसम्म उनीहरूको प्रभाव विस्तार हुन सक्ने बताएका छन्। शक्ति, पैसा र प्रभावको यस्तो सञ्जाल पहिचान नगरी गरिने कारबाही प्रभावकारी नहुने उनको तर्क छ।

उनले स्टार होटलका लबीदेखि सरकारी कार्यालयसम्म शक्ति, पैसा र कामुकताको चलखेल हुने गरेको उल्लेख गर्दै यसको वास्तविक स्वरूप सार्वजनिक बहस र गम्भीर अनुसन्धानमार्फत बाहिर ल्याउनुपर्ने बताए। यस्ता गतिविधिमा संलग्न व्यक्तिको पहिचानसँगै उनीहरूलाई संरक्षण गर्ने संयन्त्र र त्यसबाट लाभ लिने शक्तिको समेत खोजी हुनुपर्ने उनको भनाइ छ।

भ्रष्टाचारको मूल्याङ्कन रकमका आधारमा मात्रै गर्न नहुने धारणा राख्दै पन्तले सामान्य कर्मचारीले लिने घुस र शक्तिको आडमा हुने करोडौँको आर्थिक चलखेलबीच प्रकृति तथा प्रभावको भिन्नता रहेको औँल्याएका छन्। दुवै भ्रष्टाचार भए पनि तिनले राज्य र समाजमा पार्ने असर समान नहुने उनको टिप्पणी छ।

पन्तले भ्रष्टाचार नियन्त्रणका नाममा सतही लोकप्रियता हासिल गर्ने गतिविधिभन्दा तथ्यमा आधारित अनुसन्धान, संस्थागत जवाफदेहिता र संरचनागत सुधारमा जोड दिएका छन्। उनले कुनै एक पात्रलाई कारबाही गरेर मात्र यस्ता सञ्जाल अन्त्य नहुने भन्दै त्यसको जरो, संरक्षण गर्ने शक्ति र लाभग्राहीसम्म अनुसन्धान हुनुपर्ने जनाएका छन्।

यसैबीच, उनले ‘एआईको युगमा नेपाल’ अभियानलाई शासन प्रणाली, संस्थागत जवाफदेहिता, राष्ट्रिय हित र दीर्घकालीन सुधारका विषयमा राष्ट्रिय संवाद अघि बढाउने अभियानका रूपमा प्रस्तुत गरेका छन्। अभियान कुनै राजनीतिक दल, व्यक्ति वा समूहविरुद्ध केन्द्रित नभई सबै पक्षलाई एउटै बहसमा सहभागी गराउने उद्देश्यले सञ्चालन गरिएको उनको भनाइ छ।

‘हामीलाई स्टन्टबाजी होइन, तथ्यमा आधारित अनुसन्धान, संस्थागत सुधार र व्यापक राष्ट्रिय बहस चाहिएको छ,’ पन्तले भने ।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com