काठमाडौं । प्रधानन्यायाधीशसहित अन्य न्यायाधीशबारे सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति सर्वोच्च अदालतको फूलकोर्ट बैठकले गम्भीर ध्यानाकर्षण जनाएको छ । बैठकले छानबिनको निष्कर्ष नआउँदै कसैलाई दोषी ठहर्‍याउने वा न्याय सम्पादनमा अवरोध पुग्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ ।

सोमबार बसेको सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै त्यसमा अडिग रहेको जनाएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा सार्वजनिक भएका विषयमा सम्बन्धित निकायले पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढङ्गले संविधान तथा कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरिएको छ ।

सञ्चारमाध्यममा आएका समाचारबारे हुने अनुसन्धानमा कानुनबमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहिता पूरा गर्न र सहयोग गर्न न्यायपालिका प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

न्यायपालिका जनताको आस्था र विश्वासमा आधारित संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्दा आम नागरिक र सेवाग्राहीमा भ्रम वा नकारात्मक असर नपर्ने गरी संवेदनशीलता अपनाउन बैठकले आग्रह गरेको छ ।

छानबिनको निष्कर्ष आउनुअघि कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार सम्प्रेषण नगर्न पनि विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई नियमित रूपमा न्यायिक कार्यमा सक्रिय रहन सर्वोच्चले देशभरका अदालतमा कार्यरत सम्पूर्ण न्यायकर्मीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com