काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौँले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

काठमाडौँको जितमा राशिद खानले सर्वाधिक ५० रन बनाए। उनले ३३ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। कप्तान करण केसीले २० बलमा चार चौका र तीन छक्कासहित ४४ रन जोडे। जाहन्दाद खान २२ रनमा अविजित रहे भने मोहम्मद आदिल आलमले २० रन बनाए।

कर्णालीका सोमपाल कामी र हुसेन तलातले दुई–दुई विकेट लिए। मार्क वाट र नन्दन यादवले एक–एक विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो। उसका लागि अरिफुल इस्लामले २२ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ४४ रन बनाए। हुसेन तलातले ४०, पवन सर्राफले अविजित ३०, गुल्शन झाले २० र मार्क वाटले १७ रनको योगदान दिए।

काठमाडौँका करण केसीले दुई विकेट लिए भने शाह आलम, जाहन्दाद खान, देव शाह र सन्तोष यादवले एक–एक विकेट लिए।

पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको काठमाडौँले दोस्रो खेलमा पहिलो जित निकालेको हो। कर्णालीले भने पहिलो हार बेहोरेको छ। यसअघि उसले जनकपुरलाई १९ रन र विराटनगर किङ्ग्सलाई चार विकेटले हराएको थियो।

सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com