काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई लक्षित गर्दै राजनीतिक प्रहार गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत् उनले ‘१८ करोड रुपैयाँको लेनदेन’ सम्बन्धी सार्वजनिक चर्चाप्रति संकेत गर्दै आक्रोश पोखेका हुन्।

सांसद सिंहले ‘२.०’ को आवरणले मात्र कसैलाई इमानदार नबनाउने दाबी गरेका छन्। ‘मैले पहिले नै भन्दै आएको थिएँ, २.० को खोल ओढ्दैमा कोही इमानदार हुँदैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

सभापति बन्नका लागि न्यायिक प्रक्रियामै पैसाको प्रभाव पारिएको भन्ने समाचारहरूप्रति लक्षित गर्दै उनले सत्तामा पुगेपछि यस्ता व्यक्तिले के गर्लान् भन्दै प्रश्न उठाएका छन्।

‘आफू सभापति बन्नकै लागि न्याय र न्यायिक प्रक्रियामाथि पैसाको प्रभाव पार्न खोज्ने व्यक्ति सत्तामा पुगेपछि के गर्ला ?’ भन्दै उनले यो विषय सत्य भए जनताले गम्भीर रूपमा सोच्नुपर्ने उल्लेख गरेका छन्।

सुशासनको नारा दिएर जनतालाई भ्रममा पार्ने तथा पर्दापछाडि शक्ति, पैसा र बिचौलियाको खेल खेल्नेहरूबाट मुलुकको भविष्य सुरक्षित हुन नसक्ने सांसद सिंहको ठहर छ।

समाचारको सत्यतथ्य छानबिनको माग गर्दै उनले लेखेका छन्, ‘विभिन्न सञ्चार माध्यममा आएका समाचार सत्य भए दोषीमाथि कानुनअनुसार कठोर कारबाही होस्, असत्य भए तथ्यसहित जनतालाई स्पष्ट पारियोस्।’

उनले अब जनतालाई भाषण नभएर हिसाब चाहिएको समेत बताएका छन्।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com