काठमाडौं । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये चार जना पक्राउ परेका छन्। प्रहरीले फरार कैदीको खोजी गर्ने क्रममा उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलबार र बुधबार गरी चार जना पक्राउ परेका हुन्।
बुधबार त्रिपुरासुन्दरी नगरपालिका–४ रङ गाउँस्थित एक स्थानीयको घरमा लुकेर बसेका डोल्पाकै २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटका १९ वर्षीय कपिल परियार पक्राउ परेका छन्। रोकाय जबर्जस्ती करणी मुद्दामा आठ वर्ष कैद सजाय पाएका व्यक्ति हुन् भने परियार नकबजनी चोरी मुद्दामा तीन वर्ष कैद सजाय तोकिएका कैदी हुन्।
यसअघि मंगलबार रुकुमपश्चिमका ३२ वर्षीय रामबहादुर विक र सल्यानका २८ वर्षीय रेशम राना पक्राउ परेका थिए। उनीहरू दुवै जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए। प्रहरी चेकजाँचका क्रममा भाग्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गत कात्तिक १४ गते बिहान सुरुङ खनेर आठ जना कैदी डोल्पा कारागारबाट फरार भएका थिए। पक्राउ परेका चार जनाबाहेक बाँकी चार कैदीको खोजी जारी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार















प्रतिक्रिया