काठमाडौं । नेपाल प्रहरीको नेतृत्व परिवर्तनसँगै प्रहरी संगठनभित्रको घटनाक्रम थप पेचिलो बनेको छ। सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त गरेपछि एकै दिन दुई महत्त्वपूर्ण घटनाक्रम अघि बढ्ने भएका छन्।
स्रोतका अनुसार नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई आज साँझ ५ बजे दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम तय भएको छ। दर्ज्यानी चिह्न प्रदान भएसँगै केसीले औपचारिक रूपमा प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन्।
यता, आईजीपीबाट हटाइएका दानबहादुर कार्की भने सरकारको निर्णयविरुद्ध कानुनी उपचार खोज्न सर्वोच्च अदालत जाने भएका छन्। उनी आज अपराह्न ४ बजे सर्वोच्च अदालत पुगेर आफूलाई पदबाट हटाउने सरकारको निर्णयलाई चुनौती दिने तयारीमा छन्।
सरकारले नयाँ प्रहरी नेतृत्वलाई औपचारिकता दिनुअघि नै कार्की अदालतको ढोका ढकढक्याउने तयारीमा जुटेपछि प्रहरी नेतृत्व परिवर्तनको विषय थप चासोपूर्ण बनेको छ।
एकातिर नयाँ आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने तयारी, अर्कोतिर सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा कानुनी चुनौतीका यी दुई घटनाक्रमले नेपाल प्रहरीको नेतृत्व परिवर्तनलाई थप पेचिलो बनाएको छ।
प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार















प्रतिक्रिया