काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णयमा पार्टीको कुनै भूमिका नरहेको स्पष्ट पारेका छन् ।
उनले कुनै व्यक्तिलाई पदमा नियुक्त गर्न वा हटाउन पार्टीले सरकारलाई निर्देशन नदिएको र त्यस्तो हस्तक्षेप गर्ने नीति पनि नरहेको बताएका छन् ।
यसअघि सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा पार्टीको निर्देशनअनुसार कार्कीलाई पदबाट हटाइएको बताएका थिए । त्यसपछि रास्वपाको भूमिकाबारे प्रश्न उठेको थियो ।
तर, खरेलले सरकार सञ्चालनमा पार्टीले प्रधानमन्त्रीलाई सहयोग गर्ने भए पनि कसलाई पदमा राख्ने वा हटाउने भन्ने निर्णयमा हस्तक्षेप नगर्ने दाबी गरे ।
‘पार्टीले कुनै व्यक्तिलाई हटाऊ वा राख भन्ने निर्देशन दिँदैन, दिएको पनि छैन । यसमा पार्टीको कुनै भूमिका छैन,’ उनले भने ।
पत्रकार पक्राउ परेको घटनाबारे पार्टीले कारबाही गर्न भनेको भए पनि त्यसलाई आईजीपी कार्कीलाई हटाउने निर्णयसँग जोड्न नमिल्ने उनको भनाइ छ ।
खरेलले पत्रकार पक्राउ प्रकरणमा पक्राउ गर्ने व्यक्ति र आदेश दिनेहरूमाथि कारबाही हुनुपर्ने पार्टीको धारणा रहेको बताए । तर, सरकारले कार्कीलाई कारबाही गरिएको नभई जिम्मेवारी हेरफेर गरिएको मात्र बताएको उनको टिप्पणी छ ।
प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार















प्रतिक्रिया