काठमाडौं । पूर्वसचिव द्वारिकानाथ ढुंगेलले सरकारको वर्तमान सञ्चालन शैलीप्रति प्रश्न उठाउँदै मन्त्रालयहरूको संरचना नै परिवर्तन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
उनले सरकारको कार्यविभाजन तथा कार्यसम्पादन नियमावली खारेज गरी सबै मन्त्रीलाई पदमुक्त गर्न र विभिन्न मन्त्रालयका जिम्मेवारी प्रधानमन्त्री कार्यालयअन्तर्गतका महाशाखामार्फत सञ्चालन गर्न प्रस्ताव गरेका हुन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै ढुंगेलले संसदीय शासन व्यवस्थामा प्रधानमन्त्री नै मन्त्रिपरिषद्को नेतृत्वकर्ता र सरकार सञ्चालनको मुख्य जिम्मेवार व्यक्ति हुनुपर्ने बताएका छन्।
उनका अनुसार प्रधानमन्त्रीको अनुमतिमा बनेको कार्यविभाजन तथा कार्यसम्पादन नियमावलीका आधारमा सिंहदरबारको प्रशासन सञ्चालन हुनुपर्ने हो।
यही सन्दर्भमा उनले प्रधानमन्त्रीलाई व्यङ्ग्यात्मक शैलीमा ‘नखोजिएको सुझाव’ दिँदै सबै मन्त्री हटाएर मन्त्रालयका कार्यक्षेत्र प्रधानमन्त्री कार्यालयमातहत ल्याउन आग्रह गरेका छन्।
‘सरकारको कार्यविभाजन र कार्यसम्पादन नियमावली खारेज गरिदिनुहोस्। सबै मन्त्रीहरू हटाइदिनुहोस्। विभिन्न मन्त्रालयका कार्यक्षेत्रलाई प्रधानमन्त्री कार्यालयअन्तर्गतका महाशाखामा परिणत गरिदिनुहोस्,’ ढुंगेलले लेखेका छन्।
त्यस्तै, संसद्प्रति सरकारको जिम्मेवारी पनि प्रधानमन्त्रीमा मात्रै सीमित गर्ने व्यवस्था गर्न उनले व्यङ्ग्यात्मक सुझाव दिएका छन्। उनको यो टिप्पणीले सरकारको संरचना, मन्त्रीहरूको भूमिका र प्रधानमन्त्रीको कार्यशैलीमाथि बहस सिर्जना गरेको छ।
प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार















प्रतिक्रिया