काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पक्राउ गर्ने तयारी भइरहेको चर्चाबीच कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ। इनम सापकोटाको बयानमा कांग्रेसको आधिकारिकता विवादमा १८ करोड रुपैयाँको कारोबार भएको दाबीसहित गगनको नाम जोडिएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको हो।

स्रोतका अनुसार, मंगलबार नै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनले तत्कालीन आईजीपी दानबहादुर कार्कीलाई ज्वागलबाट गगन थापालाई पक्राउ गर्न दबाब दिएका थिए। तर सम्भावित सुरक्षा चुनौती र त्यसले निम्त्याउन सक्ने राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै कार्कीले तत्काल पक्राउ प्रक्रिया अघि बढाउन अस्वीकार गरेको बताइएको छ।

कुमार बेन र कार्कीबीच यही विषयलाई लिएर असमझदारी झनै बढेको स्रोतको दाबी छ। इनमको बयानका आधारमा अनुसन्धान अघि बढाउनुपर्नेमा बयानसँग सम्बन्धित सूचना र मोबाइल प्रकरणमा कुमार बेनको भूमिका नै सञ्चारमाध्यममा सार्वजनिक भएपछि सरकार र प्रहरी नेतृत्वबीचको टकराव थप चर्किएको थियो।

यसैबीच बुधबारको आकस्मिक मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ। कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ। सरकारले निर्णयको औपचारिक कारण भने स्पष्ट पारेको छैन।

नयाँ आईजीपी केसीको नियुक्तिसँगै गगन पक्राउको चर्चा झनै चुलिएको छ। नवनियुक्त आइजीपिको कांग्रेस सभापति थापाको ससुराली पक्षसँग पारिवारिक निकटता रहेको र कांग्रेस नेता तथा थापाका ससुरा जगदीशनरसिंह केसीसँग उनको निकट पारिवारिक सम्बन्ध छ। नाताले आइजीपि मनोज केसी सभापति थापाका ससुराली हुन। विगतमा सरुवा तथा बढुवामा समेत आइजीपि मनोज केसीले जगदिसनरसिंह केसी परिवारको पहुँच प्रयोग गर्ने गरेको स्रोतको दाबी छ।

अब प्रश्न उठेको छ कि राजनीतिक दबाब र पारिवारिक निकटताबीच नयाँ आईजीपी केसीले गगन थापामाथिको अनुसन्धानलाई निष्पक्ष रूपमा अघि बढाउन सक्छन् कि सक्दैनन्?

इनम सापकोटाको बयानमा आएका १८ करोडको कारोबार र अन्य आरोप स्वतन्त्र अनुसन्धानबाट पुष्टि हुन बाँकी छन्। गगन थापाले भने आफूले इनमलाई नचिनेको र कुनै रकम नदिएको दाबी गरिसकेका छन्।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com