काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायको अर्थ अदालतबाट फैसला हुनुमा मात्र सीमित नरहेको बताएकी छन् । विवादलाई न्यायोचित ढङ्गले समाधान गरी पक्षहरूबीच सहमति र सद्भाव कायम गर्नु पनि न्यायको महत्वपूर्ण पक्ष भएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री गौतमले अदालतमा मुद्दाको चाप बढिरहेका बेला मेलमिलापलाई न्यायमा सहज पहुँच स्थापित गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्ने बताएकी हुन् ।

उनका अनुसार मेलमिलाप प्रक्रियाले न्याय प्राप्तिका लागि लाग्ने समय र खर्च घटाउनुका साथै पक्षहरूबीचको सम्बन्ध सुधार र सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्‍याउँछ । यसले हारजितभन्दा सहमति, द्वन्द्वभन्दा संवाद र कटुताभन्दा सम्बन्ध सुधारलाई प्राथमिकता दिने उनले उल्लेख गरेकी छन् ।

सरकारले संसद्मा दर्ता गराएको मेलमिलापसम्बन्धी कानुन संशोधन विधेयक अहिले संसदीय समितिमा छलफलका क्रममा रहेको पनि मन्त्री गौतमले जानकारी दिएकी छन् । विधेयकमाथिको छलफलमा सहभागी भएर विभिन्न सरोकारवालाका धारणा र सुझाव सुन्ने अवसर प्राप्त भएको उनले बताएकी छन् ।

मन्त्री गौतमले न्याय प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्य मुद्दाको सङ्ख्या घटाउनुमा मात्र सीमित नरहेको स्पष्ट पारेकी छन् । न्यायलाई छिटो, सरल, सुलभ र नागरिकमैत्री बनाउनु सरकारको मुख्य प्राथमिकता रहेको उनको भनाइ छ ।

उनले मेलमिलाप प्रक्रियालाई प्रभावकारी बनाउन सके अदालतको कार्यबोझ कम हुनुका साथै नागरिकले सहज र कम खर्चमा न्याय प्राप्त गर्ने वातावरण निर्माण हुने अपेक्षा व्यक्त गरेकी छन् ।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com