जनकपुरधाम । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म सीधा रेल सेवा सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसैक्रममा रेलमार्गको प्राविधिक अवस्था परीक्षण गर्न भारतबाट १७ बोगीको यात्रुवाहक रेल जनकपुरधाम आइपुगेको छ ।

नेपाल र भारतका रेल विभागका अधिकारीहरूले पछिल्लो एक महिनादेखि स्थलगत निरीक्षण तथा द्विपक्षीय छलफल गर्दै आएका छन् । नियमित रेल सेवा सञ्चालन गर्नुअघि हालको रेलमार्गले लामो र बढी क्षमता भएको रेल धान्न सक्छ कि सक्दैन भन्ने जाँच गर्न बिहीबार परीक्षण गरिएको हो ।

नेपाल रेल्वेका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेले प्राविधिक परीक्षणका लागि उक्त रेल पठाएको हो । परीक्षण टोलीमा भारतीय रेल विभागका ६७ जना उच्च अधिकारीसमेत सहभागी थिए । उनीहरू रेलमार्फत कुर्था स्टेसनसम्म आइपुगेका थिए ।

परीक्षण सम्पन्न भएपछि रेल बिहीबार नै भारत फर्कने र त्यसको प्राविधिक प्रतिवेदन सम्बन्धित निकायमा बुझाइने पराजुलीले जानकारी दिएका छन् ।

अयोध्या–जनकपुर रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगे पनि नियमित सेवा सुरु हुने मिति भने तय भइसकेको छैन । दुई देशका रेल विभागबीच सञ्चालन तथा व्यवस्थापनसम्बन्धी औपचारिक सम्झौता र केही प्रशासनिक तथा प्राविधिक काम बाँकी रहेको जनाइएको छ ।

यस्तै, नेपालतर्फका विभिन्न रेल स्टेसन तथा हल्टहरूको मर्मतसम्भार, रंगरोगन र सरसफाइलाई पनि तीव्रता दिइएको छ ।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको छ । यद्यपि उद्घाटनको मिति र कार्यक्रमबारे औपचारिक निर्णय सार्वजनिक भएको छैन ।

अयोध्या र जनकपुरधाम धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका महत्त्वपूर्ण तीर्थस्थल भएकाले प्रस्तावित रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com