काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन बिहीबार पनि दर्ता हुन सकेन ।

कार्कीका तर्फबाट बिहीबार बिहान साढे १० बजे सर्वोच्च अदालत प्रशासनमा रिट निवेदन पेस गरिएको थियो । तर, प्रशासनले दिनभर अध्ययनका लागि राखेपछि दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा कुनै निर्णय भएन ।

रिट दर्ताका लागि सहजीकरण गरिरहेका अधिवक्ता टीका कुँवरका अनुसार मुख्य रजिस्ट्रारले निवेदन अध्ययनका लागि राखिएको जानकारी दिएका थिए । दर्ताको विषयमा शुक्रबार मात्रै टुंगो लाग्न सक्ने उनले बताएका छन् ।

कार्कीले आफूलाई सुनुवाइको अवसर नदिई पर्याप्त आधार र कारणबिनै प्रहरी प्रमुखबाट हटाइएको भन्दै सरकारको निर्णय बदर गर्न माग गरेका छन् । उनले सर्वोच्च अदालतबाट उत्प्रेषणको आदेश जारी गरी आफूलाई पुनः प्रहरी महानिरीक्षकमा बहाली गर्न माग गरेका हुन् ।

सरकारले कात्तिक १८ गतेको मन्त्रिपरिषद् निर्णयबाट कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।

त्यससँगै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको छ । कार्कीले सरकारको उक्त निर्णय कार्यान्वयन रोक्नसमेत माग गरेका छन् ।

अब सर्वोच्च अदालत प्रशासनले शुक्रबार रिट दर्ता गर्ने वा नगर्ने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com