काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै मतभेद, विवाद वा समन्वयको अभाव नरहेको दाबी गरेका छन् । सरकार र पार्टी आ–आफ्नो कार्यक्षेत्रमा रहेर काम गरिरहेको र नियमित संवाद तथा सहकार्य भइरहेको उनले बताएका छन् ।

बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले रास्वपा पुराना राजनीतिक दलहरूले अभ्यास गर्दै आएको सरकारमाथि पार्टीको नियन्त्रण र हस्तक्षेप गर्ने शैलीको पक्षमा नरहेको स्पष्ट पारे ।

उनले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको नीति रहेको उल्लेख गर्दै मन्त्रीहरूको कामकारबाहीबारे कुनै जिज्ञासा वा प्रश्न उठेमा नियमित छलफलमार्फत समाधान खोजिने बताए ।

‘हामी राजनीतिमा त्यो अभ्यासको पक्षमा छैनौँ, जहाँ सरकार टिकाउन वा पार्टी मिलाउन मन्त्रीको छेउमा अर्को व्यक्ति कुर्सी राखेर बस्नुपरोस् । सरकारले आफ्नो पूर्ण रूपमा काम गर्छ र पार्टीले आफ्नो काम गर्छ,’ उनले भने, ‘हाम्रो नियमित भेटघाट र संवाद भइरहन्छ । समन्वयको कुनै कमी छैन । सरकारलाई पूर्ण रूपमा काम गर्न दिनुपर्छ भन्ने पार्टीको स्पष्ट धारणा हो ।’

सञ्चारगृह तथा पत्रकारमाथि पछिल्लो समय भएका प्रशासनिक कदमबारे सोधिएको प्रश्नमा लामिछानेले लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताए ।

कुनै निकाय वा व्यक्तिबाट कमजोरी भए त्यसलाई सच्याउने वैधानिक संस्थाहरू रहेको उल्लेख गर्दै उनले प्रहरी प्रशासन, अदालत र प्रेस काउन्सिलजस्ता निकायलाई विश्वास गर्न र थप सुदृढ बनाउनुपर्ने धारणा राखे ।

‘यदि कसैले गलत गर्‍यो भने त्यसलाई सच्याउने हाम्रा संस्थाहरू छन् । प्रहरी प्रशासन, अदालत र प्रेस काउन्सिलजस्ता निकायलाई हामीले विश्वास गर्नुपर्छ र थप बलियो बनाउनुपर्छ,’ उनले भने, ‘कहीँ कतै गलत बाटोमा गएको अवस्था भए त्यसलाई सही बाटोमा ल्याउने कोसिस पार्टीले गर्छ ।’

लामिछानेले पार्टी र सरकारबीच आन्तरिक द्वन्द्व, दूरी वा टकराव रहेको भन्दै बाहिर फैलाइएका चर्चा र हल्लामा कुनै सत्यता नरहेको दोहोर्‍याए ।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com