काभ्रेपलाञ्चोक । पत्रकारिता, सामाजिक सेवा र राजनीतिक सक्रियतामार्फत समाजसँग जोडिँदै आएकी सरिता चौलागाईं स्थानीय नेतृत्वको यात्रामा अघि बढेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौरीदेउराली गाउँपालिकाकी उपसभापतिको जिम्मेवारीमा रहेकी चौलागाईंले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीले सञ्चालन गरेको ‘क्यान्डिडेट क्लब’ मा सहभागिता जनाएकी छन्।

लामो समयदेखि सामाजिक सरोकार, नागरिकका समस्या र सार्वजनिक उत्तरदायित्वका विषयमा सक्रिय रहँदै आएकी उनी आफ्नो अनुभव र क्षमतालाई स्थानीय तहको नेतृत्व तथा जनसेवामा उपयोग गर्ने आकांक्षासहित राजनीतिक यात्रालाई अगाडि बढाइरहेकी छन्।

पत्रकारितालाई समाजको वास्तविकता उजागर गर्ने माध्यमका रूपमा आत्मसात् गरेकी चौलागाईंले आफ्नो व्यावसायिक यात्रामा विभिन्न चुनौतीको सामना गरेकी छन्। विशेषगरी महिला भएर सञ्चार क्षेत्रमा स्थापित हुन सामाजिक सोच, पारिवारिक अपेक्षा र पेसागत चुनौतीसँग जुध्नुपरेको उनको अनुभव छ। तर निरन्तरको मेहनत, आत्मविश्वास र पेसाप्रतिको समर्पणले उनलाई सञ्चार क्षेत्रमा सक्रिय रहन प्रेरित गर्‍यो।

उनको पत्रकारिता अनुभव समाचार रिपोर्टिङमा मात्र सीमित छैन। टेलिभिजन क्षेत्रमा कार्यक्रम प्रोड्युसर, एंकर, स्क्रिप्ट राइटर तथा कार्यक्रम सञ्चालिकाका रूपमा समेत उनले काम गरेकी छन्। ‘परिवर्तनको आवाज’, ‘आजको नारी’ र ‘बालमनोरञ्जन’ जस्ता कार्यक्रममार्फत सामाजिक चेतना, महिला अधिकार तथा बालबालिकाका सवाललाई सार्वजनिक बहसमा ल्याउने प्रयास गरेकी छन्।

पत्रकारिताकै क्रममा काभ्रेपलाञ्चोक, रामेछाप, चितवन, जनकपुर, सर्लाहीदेखि सुदूरपश्चिमका धनगढी, अछाम, डडेलधुरा र बाजुरासम्म पुगेर नागरिकका समस्या, आवश्यकता र सम्भावनालाई नजिकबाट नियाल्ने अवसर पाएको उनी बताउँछिन्। सञ्चार क्षेत्रसँगै शिक्षा क्षेत्रमा पनि उनको संलग्नता रहँदै आएको छ। शिक्षकहरूको क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकासका लागि तालिम प्रदान गर्दै उनले शैक्षिक क्षेत्रमा समेत योगदान पुर्‍याउँदै आएकी छन्।

चौलागाईंको सामाजिक सक्रियताको अर्को महत्वपूर्ण पक्ष आर्थिक रूपमा विपन्न विद्यार्थीलाई सहयोग गर्नु हो। आर्थिक अभावका कारण विद्यालय जान तथा अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका बालबालिकालाई विद्यालय झोला, पोसाक तथा आवश्यक सामग्री वितरण गर्दै आएकी छन्। आर्थिक अवस्थाकै कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्ता सहयोगका गतिविधिलाई निरन्तरता दिएको उनको भनाइ छ।

सामाजिक न्याय, सुशासन र पारदर्शिताका सवालमा पनि उनी सक्रिय रहँदै आएकी छन्। भ्रष्टाचारविरुद्धका सडक आन्दोलन, नागरिक अभियान तथा राष्ट्रिय हितसँग सम्बन्धित विभिन्न गतिविधिमा सहभागी हुँदै सार्वजनिक निकायलाई जवाफदेही बनाउनुपर्ने आवाज उठाउँदै आएकी छन्।

पछिल्लो समय उनको राजनीतिक सक्रियता पनि थप बढेको छ। रास्वपा चौरीदेउराली गाउँपालिकाको उपसभापतिको जिम्मेवारी सम्हालिरहेकी चौलागाईं पार्टीको ‘क्यान्डिडेट क्लब’ मा सहभागी भएसँगै स्थानीय नेतृत्वको सम्भावित उम्मेदवारका रूपमा समेत चर्चामा आएकी छन्।

अहिलेको राजनीतिक परिवेशमा जनताका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने र समाधानका लागि पहल गर्ने काममा उनि सक्रिय छिन्। सांसदहरूको सचिवालयदेखि विभिन्न मन्त्रालयसम्म पुगेर नागरिकका समस्या, गुनासा तथा आवश्यकताबारे सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आएकी उनलाई वर्तमान सरकारको नेतृत्वसँग नजिकको राजनीतिक पहुँच र सम्बन्ध रहेको व्यक्तिका रूपमा समेत चिन्ने गरिएको छ।

चौलागाईं राजनीतिलाई पद र प्रतिष्ठा प्राप्त गर्ने माध्यमभन्दा पनि नागरिकका समस्या समाधान गर्ने र सार्वजनिक सेवामा जिम्मेवारी निर्वाह गर्ने अवसरका रूपमा लिन्छिन्। पत्रकारिताबाट नागरिकका समस्या बुझ्ने, शिक्षाबाट ज्ञान र क्षमता बाँड्ने तथा सामाजिक सेवाबाट मानवीय संवेदना विकास गर्ने अवसर पाएको उनको बुझाइ छ। अब यी अनुभवलाई स्थानीय तहको नीति निर्माण, विकास र सेवा प्रवाहसँग जोड्न चाहेको उनको भनाइ छ।

स्थानीय तहको नेतृत्वका लागि राजनीतिक प्रतिबद्धतासँगै प्रशासनिक क्षमता, जनतासँगको सम्बन्ध, विकासप्रतिको दृष्टिकोण र जवाफदेहितालाई महत्वपूर्ण आधार मानिन्छ। पत्रकारिता, सामाजिक सेवा र राजनीतिक गतिविधिमा संलग्न रहँदै आएकी चौलागाईंको आगामी राजनीतिक यात्रा र स्थानीय नेतृत्वमा उनको सम्भावित भूमिकालाई चासोका साथ हेरिएको छ।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com