काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गरेका सबै निर्णयमा पार्टीले अन्धसमर्थन नगर्ने बताएका छन्। सरकारका कामकारबाहीमा ‘हो मा हो मिलाउने’ काम पार्टीको नभएको उनको भनाइ छ।

बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले सरकारका काममा थप स्पष्टता खोज्ने, प्रश्न गर्ने र चेक एन्ड ब्यालेन्स कायम राख्ने भूमिका पार्टीको भएको बताए। आवश्यकता पर्दा पार्टीले सरकारलाई फरक धारणा राख्ने तथा निर्देशन दिनेसमेत उनले बताए।

‘सरकारले गरेका सबै चिजमा पार्टीले हो मा हो मिलाउँदैन, न त पार्टीले गरेका हरेक चिजमा सरकारले नै हो मा हो मिलाउँछ,’ लामिछानेले भने, ‘त्यसैले सरकारका निर्णयहरूमा पार्टीले कहिलेकाहीँ फरक धारणा राख्ने वा स्पष्टता खोज्ने गर्छ।’

आइजिपी प्रकरणलाई जोडेर आएका प्रश्नमा लामिछानेले पार्टी कुनै पनि सुरक्षा अधिकारीको सरुवा-बढुवाको खेलमा नलाग्ने दाबी गरे।

पार्टीले आइजिपी, डिआइजी, इन्स्पेक्टर वा सिडिओ फेर्न दबाब नदिने बताउँदै उनले सरकारले चालेका हरेक कदमको औचित्य पुष्टि गर्ने दायित्व सरकारकै हुने उल्लेख गरे।

पत्रकार पक्राउलाई लिएर सञ्चारकर्मीले ‘टु मच भएन र ?’ भन्ने प्रश्न सोधेपछि उनले ‘हाउ मच इज टु मच ?’ भन्दै प्रतिवाद गरे। अनुसन्धानका क्रममा सरकारले आफ्ना कामहरू गरिरहेको र यसबारे सरकारका प्रवक्ता तथा मन्त्रीहरूले समय आएपछि स्पष्ट पार्ने उनको भनाइ थियो।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com