काठमाडौं । अमेरिकाको भर्जिनियामा पत्नी ममता काफ्ले भट्टको हत्या गरी शव लुकाएको आरोप लागेका नरेश भट्टले अदालतमा आफ्नो बचाउमा बयान दिँदै शव टुक्र्याउन आरा प्रयोग गरेको स्वीकार गरेका छन् । यद्यपि उनले पत्नीको हत्या गरेको आरोप भने अस्वीकार गर्दै ममताले आत्महत्या गरेको दाबी गरेका छन् ।

३९ वर्षीय भट्टले २८ वर्षीया ममता बेहोस अवस्थामा फेला परेको र आफूले उनलाई बचाउने प्रयास गरेको बताएका छन् । सन् २०२४ जुलाईमा बेपत्ता भएकी ममताको शव अहिलेसम्म फेला परेको छैन ।

भट्टमाथि हत्या, शव लुकाएको र शवको बेइज्जती गरेको अभियोग लागेको छ । उनले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गरेका छन् । जुलाई ३०, २०२४ मा मनासास पार्कस्थित आफ्नै घरमा भएको घटनाबारे उनले अदालतमा पहिलोपटक विस्तृत बयान दिएका हुन् ।

बेहोस अवस्थामा फेला परेको दाबी

अमेरिकी सञ्चारमाध्यम डब्लूएसएका अनुसार भट्टले जुलाई २९ को राति करिब ८ बजे छोरीसँग सुतेको र पत्नी माथिल्लो तलामा गएको आफूलाई थाहा नभएको बताए ।

भोलिपल्ट बिहान करिब ४ बजे शौचालय जान उठ्दा अनौठो गन्ध आएको र सुत्ने कोठामा फर्किएपछि ममतालाई ओछ्यानमुनि उत्तानो परेको अवस्थामा फेला पारेको उनको भनाइ छ । ममताको बान्तानजिकै औषधि र अत्यन्तै विषाक्त कीटनाशक ‘सेल्फोस’को खुला पोका पनि भेटिएको उनले दाबी गरेका छन् ।

प्रहरीलाई खबर नगरेको स्वीकार

ममतालाई बेहोस अवस्थामा फेला पारेपछि तत्काल प्रहरीको आपत्कालीन नम्बर ९११ मा खबर नगर्नुको कारणबारे प्रश्न गर्दा भट्टले आफू डराएको र आत्तिएको बताए ।

‘मलाई थाहा छैन किन फोन गरिनँ । फोन गर्ने प्रयास गरेको थिएँ । म निकै डराएको थिएँ । केही कुराले मलाई नियन्त्रणमा लिएजस्तो भयो,’ उनले अदालतमा भनेका छन् ।

उनका अनुसार ममतालाई शौचालयमा सार्नुअघि करिब एक घण्टासम्म बचाउने प्रयास गरेका थिए । तर, उनको मृत्यु भइसकेको महसुस भएपछि शव कसरी व्यवस्थापन गर्ने भन्ने सोच्न थालेको उनले स्वीकार गरेका छन् ।

सुरुमा शवलाई पोटोम्याक नदीमा फाल्ने योजना बनाएको र त्यसका लागि आवश्यक सामान किन्न होम डिपो गएको उनले बताए । यस क्रममा छोरीलाई बेबीसिटरको अपार्टमेन्टमा छाडेको उनको भनाइ छ ।

घर फर्किएपछि आत्महत्या गर्ने सोच आएको भए पनि त्यसो नगरेको उनले बताए । भोलिपल्ट शवलाई फोहोर राख्ने डब्बामा राख्न खोज्दा शरीर नअटाएको उनको बयान छ ।

शव टुक्र्याउन आरा प्रयोग गरेको बयान

बचाउ पक्षकी वकिल ट्रेसी लेनोक्सको प्रश्नमा भट्टले पत्नीको शव टुक्र्याउने प्रयास गरेको स्वीकार गरेका छन् । शवको आकार सानो बनाउन खुट्टा अलग गर्न खोजे पनि सफल नभएको उनले बताए ।

‘मानसिक र शारीरिक रूपमा म असहाय थिएँ । म त्यो गर्न सकिनँ,’ उनले अदालतमा भने ।

आरा प्रयोग गरेकोबारे सोध्दा उनले आफूसँग आरा रहेको र त्यसको प्रयोग गरेको स्वीकार गरे ।

डब्लूएसएका अनुसार भट्टले शव टुक्र्याउने प्रयास घरको पारिवारिक शौचालयमा गरेको बताएका छन् । अनुसन्धानकर्ताहरूले रगतका सम्भावित दाग पत्ता लगाउन प्रयोग गरिने ‘ब्लुस्टार’ रसायनसँग प्रतिक्रिया देखिएका स्थान पनि घरभित्र फेला पारेका थिए । बाथटबनजिकको टायल, शावर क्षेत्र र सुत्ने कोठाको ढोकानजिकको भित्तामा त्यस्तो प्रतिक्रिया देखिएको थियो ।

परिस्थितिजन्य प्रमाणमा अभियोजन पक्षको जोड

अभियोजकहरूले भट्टको बयानअघि उनीविरुद्ध विभिन्न प्रमाण प्रस्तुत गरेका थिए । कोर्टहाउस न्युज सर्भिसका अनुसार सरकारी पक्षले घरबाट प्राप्त डीएनए परीक्षणको नतिजा, आफन्त तथा साथीभाइका बयान र अन्य परिस्थितिजन्य प्रमाणलाई मुद्दाको आधार बनाएको छ ।

साक्षीहरूले ममताले आफ्नी सानी छोरीलाई छाडेर स्वेच्छाले हराउने सम्भावना आफूहरूलाई विश्वास नभएको बताएका छन् । अभियोजकहरूले दम्पतीबीच सम्बन्ध तनावपूर्ण रहेको र भट्टको व्यवहार दुर्व्यवहारपूर्ण रहेको आरोपसमेत लगाएका छन् । तर, भट्टले यी आरोप खण्डन गरेका छन् ।

ममता अन्तिमपटक २९ जुलाई २०२४ मा भिडियो कलमा देखिएकी थिइन् । उनीहरूकी एक छोरी छन् । दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि ममताको शव फेला पर्न सकेको छैन ।

बचाउ पक्षले भट्टले नै ममताको हत्या गरेको पुष्टि गर्ने प्रत्यक्ष प्रमाण अभियोजन पक्षसँग नरहेको जिकिर गरेको छ । सरकारी पक्षले भने घरबाट प्राप्त भौतिक प्रमाण, साक्षीका बयान र ममता बेपत्ता भएपछिका घटनाक्रमलाई आधार बनाएर मुद्दा अघि बढाएको छ ।

अदालतमा भट्टले आफ्नो पारिवारिक पृष्ठभूमिबारे पनि बयान दिएका थिए । नयाँ दिल्लीमा जन्मिएका उनी परिवार नेपाल फर्कनुअघि आमाबुबा र काकासँग दुई वर्षभन्दा बढी समय त्यहीँ बसेको बताएका छन् । नेपालमा बाल्यकाल बिताउने क्रममा माओवादीहरूले आफूलाई नियन्त्रणमा लिएर कुटपिट गरेको दाबीसमेत उनले गरेका छन् ।

प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com